Butwal Today

कक्षा १२ को प्रश्नपत्र बाहिरिएको समाचार झूठो, सामाजिक सञ्जालमा भ्रम नछरौं : परीक्षा बोर्ड

२१ बैशाख २०८२, आइतबार
अ+
अ-

काठमाडौँ।

कक्षा १२ को परीक्षा सुरु भएको पहिलो दिनै अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको भन्ने हल्ला चलेपछि राष्ट्रिय परीक्षा बोर्डले त्यसको खण्डन गरेको छ।

आइतबार सञ्चालित अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षाका केही विद्यार्थीहरूले पहिले नै पाएको भन्ने दावी सामाजिक सञ्जालमा फैलिएको थियो। तर बोर्डले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो सूचना भ्रमपूर्ण र तथ्यविहीन भएको स्पष्ट पारेको छ।

“सामाजिक सञ्जालमा पुराना तथा पहिले प्रयोग भइसकेका प्रश्नपत्रहरू प्रयोग गरी अनावश्यक हल्ला फैलाउने काम भएको देखिएको छ,” विज्ञप्तिमा भनिएको छ, “यस्ता कार्य परीक्षाको मर्यादाविपरीत हुनुका साथै कानूनअनुसार दण्डनीय पनि छन्।”

बोर्डले यस प्रकारका हल्लामा नपर्न विद्यार्थी, अभिभावक र सरोकारवालालाई अनुरोध गर्दै यस्ता गलत जानकारी प्रसार गर्नेहरूमाथि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा जानकारी गराइसकेको जनाएको छ।

परीक्षाजस्तो संवेदनशील विषयमा तथ्य नपुगी सामाजिक सञ्जालमा सामग्री पोस्ट नगर्न पनि बोर्डले सबैमा आग्रह गरेको छ।