© २०२३
लमही, १८ बैशाख ।
शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएपछि तुलसीपुर उपमहानगरपालिका–१४ ले आफ्नो पहलमा वैकल्पिक कक्षा सञ्चालन सुरु गरेको छ । वडाध्यक्ष शंकर कुमार खड्काको नेतृत्वमा मङ्गलबारदेखि वडा भित्रका चार विद्यालयमा अध्यापन सुरु गरिएको हो । वडाका जनप्रतिनिधि, निजामती कर्मचारी, १२ कक्षा उत्तीर्ण र स्नातक तह पढिरहेका युवाहरूलाई परिचालन गरी अध्यापन सुरु गरिएको अध्यक्ष खड्काले जानकारी दिए । “पढाइबाट बञ्चित भइरहेका बालबालिकालाई ध्यानमा राखेर अस्थायी शिक्षकमार्फत पठनपाठन सुरु गरेका हौं,” उनले भने ।
मंगलबार पहिलो दिन बाल मितेरी माध्यमिक विद्यालय भोजपुर, आधारभूत विद्यालय खौरापुर, नमुना प्राथमिक विद्यालय करङगा र किसान प्राथमिक विद्यालय अकमी मटेरामा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कक्षा सञ्चालन भएको थियो । वडाले सरकारी शिक्षकहरूले नियमित पठनपाठन पुनः सुरु नगरेसम्म वैकल्पिक शिक्षणलाई निरन्तरता दिने जनाएको छ ।
अध्यक्ष खड्काले सबै अभिभावकलाई आफ्नो बालबालिकालाई विद्यालय पठाउन आग्रह गरे । साथै, वडा स्तरीय यस अभियानमा अभिभावक तथा विद्यालय व्यवस्थापन समितिहरूले समेत साथ दिएको उल्लेख गरिएको छ ।
स्मरणीय छ, शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरूले विगतका सहमतिअनुसार सरकारले ऐन जारी नगरेको भन्दै आन्दोलन चर्काइरहेका छन् ।