काठमाडौं ।
सत्तारुढ गठबन्धनको बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ। बैठकमा सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, गभर्नर नियुक्ति, शिक्षक र चिकित्सकको आन्दोलन लगायतका महत्वपूर्ण नीतिगत विषयहरूमा छलफल भइरहेको स्रोतले जनाएको छ।

यस बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली (नेकपा एमालेका अध्यक्ष), नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, र जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राई लगायतका प्रमुख नेताहरू सहभागी छन्।
यो बैठक सरकारी नीतिहरूमा सहमति र संवेदनशील मुद्दाहरूमा समाधान को खोजी गर्दै आयोजना गरिएको छ, जसमा आगामी राजनीतिक योजनाहरूको रणनीति तय गर्ने उद्देश्य राखिएको छ।




