© २०२३
कपिलवस्तु, १७ बैशाख ।
कपिलवस्तु जिल्लालाई यस बर्षको जेठ मसान्त भित्र पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्ने लक्ष्य लिइएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा बसेको जिल्ला पुर्ण खोप समन्वय समितिको बैठकले जिल्लालाई जेठ मसान्त भित्र पूर्ण खोप सुनिश्चितता र दीगोपना घोषणा गर्ने लक्ष्यमा अगाडि बढेको हो ।
जिल्लाका पालिकाहरूलाई तोकिएको अबधीमै लक्ष्य पुरा गर्ने गरि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्य अगाडि बढाउन आवश्यक रहेको जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताए ।
अघिल्ला बर्षमा कपिलवस्तु जिल्लाकै कारण प्रदेश नै पुर्ण खोप घोषणा हुन नपाएको र गत आवमा समेत अन्तिम समयमा कपिलवस्तु जिल्लालाई पुर्ण खोप घोषणाको कार्य गरिएको स्मरण गर्दै दिगोपना घोषणा समयमै गर्नु पर्नेमा प्रमुख आचार्यले जोड् दिए । गत आर्थिक बर्षमा कपिलवस्तु जिल्ला पूर्ण खोप घोषणा भएसँगै यस बर्षबाट जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणाको कार्य अगाडि बढाईएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरब ढकालले बताए । पालिकास्तरमा लाईन लिस्टिगं सगै खोज र खोप अभियानलाई प्राथमिकताका साथ अगाडी बढाईएको ढकालले स्पष्ट पारे ।
जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको कार्य समयमै गर्नका लागि पालिकाहरूले लाईन लिस्टिड्ड गरि २३ महिना सम्मका शुन्य खोप लगायतका बालबालिका भेटिए नियमित खोप तालिका बमोजिक खोप पुरा गराउने र ५ बर्ष मुनीका बालबालिकालाई पनि छुटेको खोप लगाउने कार्य गरिँदै आएको स्वास्थ्य कार्यालयका खोप अधिकृत दिवाकर महर्जनले जानकारी दिए ।
बैठकले जिल्लाको बाणगंगा नगरपालिका भित्रका ११ वडाका १ हजार ६ सय ३४ जना २३ महिना भित्रका बालबालिकाको खोप सुनिश्चितता भएको अनुगमनमा देखिएको जानकारी सहित सो पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने अनुमति दिने निर्णय गरेको थियो । बाणगंगा नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने प्रयोजनका त्यस पालिकामा गरिएको अनुगमनका क्रममा सम्पुर्ण खोप लगाउन कोही बालबालिका नछुटेका र केहि खोप छुटेका बालबालिकालाई समेत खोप पुरा गरेको भेटिएको डब्लुएचओका प्रतिनिधी मोहम्मद अस्लमले अनुभव सुनाए । बैठकमा जिल्ला समन्वय समिति उपप्रमुख रमेश कुर्मी, जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख लोकनाथ मरासिनी, गैसस महासंघका जिल्ला अध्यक्ष जयप्रकाश पाण्डेय लगायतको सहभागीता रहेको थियो ।