© २०२३
बर्दघाट, १६ बैशाख । लुमी ब्युटि जोन एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा १ दिने मेकअप तालिम सम्पन्न भएको छ । सेन्टरको पाँचौ स्थापना दिवसको अवसर पारेर २५ जना प्रशिक्षार्थीहरुलाई निःशुल्क तालिम प्रदान गरिएको हो ।
आफैले आफ्नो मेकअप गर्न सघाउ पुग्ने उद्देश्य सहितको तालिम प्रदान गरिएको सेन्टरकी सँचालिका दिपा शाही ठकुरीले जानकारी दिइन । विगत ५ वर्षदेखी निरन्तर सौन्दर्यता सम्बन्धि तालिम दिँदै आएकी ठकुरीले यस अघि तालिम लिएका समेत गरि ४५ जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको जानकारी दिइन ।
मेक अप तालिम कार्यक्रमको सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्यालले उद्घाटन गर्दै पछिल्लो समय महिलाहरु ब्युटि पार्लर गइ ठूलो धनराशी सौन्दर्यताको लागि खर्च गरिरहँदा आफ्नो लागि आवश्यक पर्ने मेकअप आफै गर्न सकेमा धनराशीको पनि वचत हुने र परिवारका सदस्य लगायत निकटवर्तिहरुलाई समेत न्युनतम खर्चमा सुन्दर वनाउन सकिने बताइन । अर्यालले सिकेको सिपलाई अझै निखार्दै स्वरोजगार बन्न समेत आग्रह गरेकी थिइन ।
प्रशिक्षक ठकुरीले महिलाहरुले सौन्दर्यता तालिममा सहभागी भइ तालिम लिने गरेपनि तालिम पश्चात ब्यवहारमा पूर्णतः लागू गर्न नसकेको अवस्था रहेको बताइन । उनले महिलालाई सौन्दर्य तालिमले स्वरोजगारमा सघाउ पुर्याउने समेत बताएकी थिइन ।