© २०२३
काठमाडौं ।
आफ्ना मागप्रति सरकार गम्भीर नदेखिएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएको छ। मंगलबार बिहान बसेको महासंघको बैठकमा सरकारसँगको वार्ता अपेक्षित रूपमा नटुंगिएको भन्दै आन्दोलन चर्काउनुपर्ने निष्कर्ष निकालिएको हो।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले वार्ताबाट खास उपलब्धि ननिस्किएको जनाउँदै सरकार मागप्रति सकारात्मक नदेखिएको बताए। उनले “प्रधानमन्त्री नै नकारात्मक देखिए,” भन्दै विगतका सहमति उल्ट्याउने प्रयास भएको आरोप समेत लगाए।
शिक्षक महासंघले यसअघि सरकारसमक्ष ९ बुँदे माग प्रस्तुत गरेको थियो, जसको कार्यान्वयनका लागि करिब १३ अर्ब रुपैयाँ आवश्यक पर्ने शिक्षकहरूको दाबी छ। तर, शिक्षा मन्त्रालयका अनुसार सबै माग पुरा गर्न ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
शिक्षामन्त्री रघुजी पन्तले भने वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। उनले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न सरकार प्रतिबद्ध रहेको पनि बताएका छन्।
सोमबारको मन्त्रिपरिषद् बैठकले शिक्षक महासंघसँगको वार्ता र सहमति प्रक्रिया अघि बढाउने जिम्मेवारी शिक्षामन्त्री पन्तलाई दिएको थियो। सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म समाधानको अपेक्षा व्यक्त गरेका छन्।
शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंमा आन्दोलनरत छन् र माग सम्बोधन नभए आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिइरहेका छन्।