© २०२३
काठमाडौं ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको बहुप्रतिक्षित एकता घोषणा वैशाख १७ गते हुने भएको छ। एकीकरणको तयारी अन्तिम चरणमा पुगेसँगै आज साँझ ६ बजे जनमत पार्टीले बानेश्वरस्थित कार्यालयमा कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठकमा सबै सदस्यलाई नागरिकता र मतदाता परिचयपत्रसहित अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ।
एकीकृत पार्टीको नाम जनमत पार्टी नै रहनेछ भने पुरानै चुनाव चिन्ह ढकिया प्रयोग गरिनेछ। पार्टी नेतृत्वमा डा. सीके राउत कार्यकारी अध्यक्ष, रेशम चौधरी संरक्षक, र रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने सहमति भएको छ।
दुवै पार्टीबाट २५–२५ जनाको सहभागिता रहने गरी ५१ सदस्यीय पदाधिकारी समिति गठन गरिनेछ, जसमा चौधरी संरक्षकको रूपमा रहनेछन्। यस्तै, ७०० सदस्यीय केन्द्रीय समिति पनि समान अनुपातमा गठन हुनेछ।
एकीकरण घोषणा भएको भोलिपल्ट, वैशाख १९ गते नयाँ पार्टीको दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरिएको छ। त्यही दिन एकीकृत पार्टीको केन्द्रीय समितिको बैठक बसेर औपचारिक निर्णय गरिने बताइएको छ।