© २०२३
सुर्खेत,१४ वैशाख ।
कर्णाली राष्ट्रिय मुक्ति मोर्चा पुनर्गठित गरिएको छ । माओवादीका नेता गणेश भण्डारीको संयोजकत्वमा २३ सदस्यीय समिति चयन भएको छ । मोर्चाको सह– संयोजकमा खड्कराज सेजुवाल चयन भएका छन्तत्कालीन माओवादी सशस्त्र युद्धका समयमा गठित भेरी–कर्णाली राष्ट्रिय मुक्ति मोर्चा शान्ति प्रक्रियासँगै निष्क्रिय बनेको थियो । अहिले भण्डारीको संयोजकत्वमा २३ सदस्यीय मोर्चा पुनर्गठित गरिएको हो ।
मोर्चाको प्रदेश इन्चार्ज भने माओवादी नेता नरेश भण्डारी छन् । यस्तै, ‘कर्णालीका उत्पीडित, उपेक्षित, जनता एक होऔँ’ भन्ने मूल नारा तयार गरेको पुनर्गठित मोर्चाले चरणबद्ध कार्यक्रमहरूको घोषणा गरेको छ । जस अन्तर्गत आगामी जेठ १ गते प्रदेशका १० वटै जिल्लामा एक साथ भेला सम्पन्न गर्ने, ५ गते राजधानी सुर्खेतमा विशाल अन्तरक्रिया कार्यक्रम गर्ने र आगामी जेठ २० गते सम्पूर्ण पालिकाहरूमा भेलाहरू सम्पन्न गरिने संयोजक गणेश भण्डारीले जानकारी दिए ।
माओवादी केन्द्रले जनतामा फर्किने संकल्प गरेपछि पुसमा बसेको केन्द्रीय बैठकले जातीय र क्षेत्रीय मोर्चा ब्युँताउने निर्णय गरेको थियो । सोही अनुसार कर्णाली राष्ट्रिय मुक्ति मोर्चालाई पनि पुनर्गठित गरिएको हो । मोर्चाको केन्द्रीय कार्यालय वीरेन्द्रनगरमा र विशेष कार्यालय जुम्लाको सिञ्जामा राखिने छ । नेकपा माओवादीका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले कर्णालीका समस्या समाधानका लागि अघि बढ्न मोर्चाको गठन गरिएको बताइन् । ‘कर्णाली पिछडीएको र उत्पिडित क्षेत्र हो त्यसकारण हामी यहीबाट कार्यक्रमको घोषणा गरेका हौ’ केसीले भनिन्, ‘कर्णालीका समस्या समाधानका लागि उपाए सुल्झाउनुका साथै यहाँको विकास र समृद्धिका लागि मोर्चा अघि बढ्छ ।’