© २०२३
बुटवल, १२ वैशाख ।
सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि बुटवलले शुक्रबार सातौं वार्षिकोत्सव मनाएको छ। यस अवसरमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई जनताको भरोसाको केन्द्र बनाउने आग्रह गरे। उनले उपचारमा आउने सेवाग्राहीप्रति सकारात्मक व्यवहार र सेवालाई थप विश्वसनीय बनाउनु पर्नेमा जोड दिए। पाण्डेयले अस्पतालका सेवाहरू र शुल्कहरूको बारेमा सामान्य नागरिकले बुझ्न सक्ने गरी जानकारी उपलब्ध गराउनुपर्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वाश ढकाल, अस्पतालका कानूनी सल्लाहकार महेन्द्र पाण्डेय, बुटवल वडा प्रहरी कार्यालयका प्रमुख विष्णु बस्नेत लगायतले स्वास्थ्य सेवाको विश्वसनीयता र सेवाग्राहीमैत्री बनाउन सुझाव दिए।
अस्पतालका सञ्चालक तथा वरिष्ठ मृगौला रोग विशेषज्ञ शक्ति बस्नेतले सिद्धबाबा हस्पिटलले बुटवल बाहिर जानुपर्ने बाध्यता कम गरेको र विशिष्ट अस्पतालको रूपमा स्थापित भएको बताए। उनले चिकित्सा क्षेत्रमा लागेका युवा चिकित्सकहरूको विदेश पलायनको समस्या पनि उठाए र सरकारको ध्यान आकर्षित गरे।
कार्यक्रममा उत्कृष्ट कर्मचारीहरूको सम्मान गरिएको प्रशासन प्रमुख प्रकाश न्यौपानेले बताए । सिद्धबाबा अस्पताल, जसलाई युवा चिकित्सकहरूको लगानीमा स्थापित गरिएको हो, हाल एक सय भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीले सञ्चालन गरिरहेका छन्।