© २०२३
काठमाडौं, १२ वैशाख ।
सत्तारुढ दल नेकपा एमालेले देशमा देखिएका समस्याहरू पछिल्लो सरकारको कारण मात्र नभएको भन्दै स्पष्ट धारणा सार्वजनिक गरेको छ। पार्टीका सांसद गोकर्ण विष्टले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सरकार समस्याहरू समाधान गर्नेगरी अघि बढेको बताए।
विष्टले भने, “देशमा यी उल्लेखित समस्या र चुनौतीभन्दा बाहेक बहुआयामिक खालका समस्या पैदा भइरहेका छन्। केही समस्यामा विश्व अर्थव्यवस्थाका कारण छन् भने केही आन्तरिक कारणहरू पनि छन्।” उनले थपे, “यी समस्याहरू केवल ९ महिनाको सरकारको अवधिमा पैदा भएका होइनन्। यी समस्याहरू लामो समयदेखि थुप्रिएका समस्याहरू हुन् र सरकार ती समस्याहरू सामना गर्न अघि बढेको छ।”
तर, उनले चुनौतीका पहाडलाई ९ महिनाको कार्यान्वयनले मात्र समाधान गर्न नसकिने कुरा पनि स्वीकार गरे। “चुनौतीका पहाडलाई केवल ९ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पुर्याउने वा सफलता प्राप्त गर्ने कुरा नहुन सक्छ,” उनले भने, “यो कुरा संसद र आम दाजुभाई दिदीबहिनीले गम्भीर रुपमा सोच्नुपर्ने अवस्था छ।”