© २०२३
२०७२ साल वैशाख १२। बिहान ११:५६ बजे। एकै क्षणमा देश थर्थर काँपेको त्यो समय आज पनि धेरै नेपालीको स्मृतिमा ताजै छ। आज ठीक १० वर्षपछि, फेरि उही सम्झना ताजगीका साथ फर्किएको छ—सिन्धुपाल्चोक फेरि काँप्यो।
आज शुक्रबार, बिहान ११:५३ बजे। गोरखा भूकम्पको एक दशक पुग्ने ठ्याक्कै दिन, सिन्धुपाल्चोकको फुल्पिङकोट आसपास ४.१ म्याग्नेच्युडको भूकम्प महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार, यो परकम्प नै हो—७.९ म्याग्नेच्युडको मुख्य भूकम्पपछि चार म्याग्नेच्युडभन्दा माथिको ६०३औं परकम्प।
दुर्भाग्यपूर्ण सन्दर्भ के भने, गोरखा भूकम्पका बेला सबैभन्दा धेरै क्षति भएको जिल्ला सिन्धुपाल्चोक नै फेरि आजको कम्पनको केन्द्रबिन्दु बन्यो।
उता, गएराति रुकुमपूर्वमा पनि भूकम्पको झट्का महसुस गरिएको थियो। भूकम्पीय जोखिम अझै टरिसकेको छैन भन्ने संकेत यिनै परकम्पहरूले दिइरहेका छन्। १० वर्षको स्मृति र आजको कम्पनले फेरि एकपटक देशलाई भूकम्पको घाउ सम्झाइदिएको छ—प्रकृतिको शक्तिलाई बुझ्न, तयारी गर्न र सचेत रहन।