© २०२३
काठमाडौं ।
देशभर गर्मीको प्रभाव तीव्र रुपमा बढ्दै गएको छ। हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको र सोही कारण उच्च हिमाली र पहाडी भू–भागबाहेक अधिकांश स्थानमा तापक्रम लगातार बढिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। काठमाडौं उपत्यकामा पनि पछिल्ला केही दिनदेखि गर्मी तीव्र रूपमा बढ्दै गएको छ। आज काठमाडौंको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसको हाराहारीमा पुग्ने अनुमान गरिएको छ।
देशको सबैभन्दा तातो स्थान आज पनि भैरहवा हुनसक्ने देखिएको छ, जहाँ तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ। अर्कोतर्फ, जुम्ला भने रातको समयमा सबैभन्दा चिसो हुने स्थान हुने देखिएको छ, जहाँ तापक्रम ५ डिग्रीसम्म झर्न सक्छ। मौसम विभागका अनुसार, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा तातो लहर चल्न सक्ने चेतावनी दिइएको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि हुनसक्ने देखिएको छ। यस्तै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। गर्मीको यस्तो अवस्था अझ केही दिन कायम रहन सक्ने भएकाले मौसमको जानकारीमा अपडेट रहन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई आग्रह गरेको छ।