© २०२३
बुटवल, १० बैशाख । पूर्वी पाल्पा समाज रुपन्देहीले आफना सदस्यहरुलाई लक्षित गरि तनाव व्यवस्थापन तथा क्षमता अभिवृद्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा तनावको पहिचान, यसले पार्ने असर, तनाव कम गर्ने उपायहरु र सामना कसरी गर्ने भन्ने बारेमा मनोरोग विशेषज्ञ डा.राजेश श्रेष्ठले प्रशिक्षण दिएका थिए । तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि निकै असर पार्ने र दैनिक जीवनमा समेत असहजता आउन सक्ने उनले बताए । पछिल्लो समय अव्यवस्थित जीवन शैली, अस्वस्थकर खानपान, योग, ध्यान र साँस्कृतिक जीवन शैलीको अभावका कारण अत्याधिक मानिसमा मानसिक समस्या बढ्दै गइरहेको, धैर्यताको कमी, पारिवारिक बेमेल जस्ता समस्या जटिल बन्दै गइरहेकाले समयमै यसलाई रोक्न सकिएन भने आगामी पुस्ता भयानक नैतिक र भावनात्मक समस्यामा पर्ने डा.श्रेष्ठले बताए ।
कार्यक्रममा समाजका अध्यक्ष सुनिल श्रेष्ठले पाल्पाबाट रुपन्देही झरि विभिन्न पेशा ब्यवसायमा आवद्ध भएका व्यक्तिहरुलाई संस्थामा गोलबन्द गरि आपसी भावनात्मक सम्बन्ध बिस्तार र बिभिन्न रचनात्मक कामहरु गर्दै आएको बताए । स्थापनाको छोटो समयमै समाजले विभिन्न कार्यक्रम गर्न सफल भएको बताउँदै उनले छात्रवृत्ति कोष स्थापना, छोरी शिक्षा कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविरलगायत कार्यक्रम सञ्चालन गर्दै आएको बताए । पुर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाईसरेका सामाजिक अभियन्ताहरुले समाज स्थापना गरि दुई स्थानका संस्कार, संस्कृति संरक्षण र सामाजिक गतिविधिमार्फत जोड्ने काम गरेका छन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले पाल्पाबाट रुपन्देही झरेका व्यक्तिहरूलाई समाजमा गोलबन्द गरि सुखदुःख साट्ने चौतारीका रूपमा स्थापित गर्नुपर्ने बताइन् । साथै, समाजलाई थप बलियो बनाउन सबै सदस्यहरू एकजुट हुनुपर्नेमा उनले जोड दिइन् । सोही अवसरमा समाजको पहिचान दिने गरि नयाँ वर्ष २०८२ सालको अवसरमा प्रकाशित भित्ते पात्रो बिमोचन गरी शुभकामना आदानप्रदानसमेत गरिएको समाजका महासचिव भोजराज न्यौपानेले बताए ।