© २०२३
काठमाडौं, १० वैशाख ।
लामो समयदेखि छलफलमा रहेको निजामती सेवा विधेयक अब शीर्ष तहको सहमतिबाट निष्कर्षमा पुग्ने भएको छ। बुधबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा विधेयकमाथिको छलफल औपचारिक रूपमा सकिएको छ। समितिले विधेयक पारित गर्ने तयारी गर्दै बैठक आयोजना गरे पनि अन्तिम निर्णय भने शीर्ष नेताहरूको छलफलपछि मात्र हुने संकेत देखिएको छ।
समितिले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बैठकमा बोलाए पनि उनीहरू उपस्थित भएनन्। प्रचण्ड स्वयं समितिका सदस्य हुन्। समितिका सभापति रामहरि खतिवडाले अब बाँकी रहेका विवादित विषयहरूमा शीर्ष नेताहरूबीच छलफल गरेर निष्कर्षमा पुग्ने तयारी भइरहेको जानकारी दिए।
प्रचण्डले प्रधानमन्त्री ओलीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग विधेयकका संवेदनशील र जटिल पक्षमा कुराकानी गर्ने बताएका छन्। कुलिङ पिरियड, प्रदेश सचिव, प्रमुख प्रशासकीय अधिकृत जस्ता विषयहरूमा अझै स्पष्ट सहमति आवश्यक देखिएको छ।
विधेयकको अन्तिम रुप दिने जिम्मेवारी समितिका सभापति खतिवडा र उपसमितिका संयोजक दिलेन्द्रप्रसाद बडूले नेतृत्व गर्नेछन्। अबको केही दिनभित्रै हुने भनिएको उच्चस्तरीय छलफलपछि विधेयक संसदमा टुंगो लाग्ने अपेक्षा गरिएको छ।