© २०२३
सुर्खेत, २५ चैत ।
नेकपा (एमाले) सुर्खेतले भोली (मंगलबार) जागरणसभा गर्ने भएको छ । वीरेन्द्रनगरमा बृहत् जनप्रदर्शनसहित जागरणसभा आयोजना गरिने नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले जनाएको छ । गणतन्त्रको रक्षाका साथै विशेष गरी पछिल्लो समय उत्पन्न राजनीतिक घटनाहरुको विषयमा नागरिकहरुलाई सही सूचना प्रवाह गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको पार्टीले जनाएको छ । जिल्ला कमिटी सुर्खेतको आयोजनामा र कर्णाली प्रदेश कमिटीको संयोजनमा हुन लागेको उक्त कार्यक्रममा १२ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, स्थायित्व र जनअधिकारको सुदृढीकरणका लागि देशभर जागरण अभियान सञ्चालन गरिरहेको एमालेले गणतन्त्र, संविधान र जनताको अधिकारमाथि भइरहेको प्रतिगामी षड्यन्त्रविरुद्ध जनजागरण गर्न लागेको एमाले सुर्खेत जिल्ला कमिटिका अध्यक्ष कुलमणी देवकोटाले बताए ।
कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, प्रदेश इञ्चार्ज गोरख बोगटीलगायतका नेताहरूको सम्बोधन रहने जनाइएको छ । अध्यक्ष देवकोटाले जागरणसभामा सहभागिता जनाउन अपिलसमेत गरेका छन् । गणतन्त्र पक्षधरहरूसँग सम्बन्धित कार्यक्रम भएपनि एमाले सुर्खेतले भने एक्लै कार्यक्रम गर्ने भएको हो । पछिल्लो समय चर्चा भइरहेको राजावादीको गलत विषयको भण्डाफोर गर्ने र नागरिकलाई सुशिचित गराउने उद्देश्य राखिएको छ ।
‘सरकारमा भएपनि सडकमा आउनुपर्ने बाध्यता रहेको छ’ अध्यक्ष देवकोटाले भने, ‘सामन्ती व्यवस्था अस्वीकार छ । नेपालमा संविधानविरोधि क्रियाकलाप भइरहेका छन् , यस विषयमा जनतालाई सही कुरा बुझाउन आवश्यक छ ।’ सभामा समसामयिक राजनीतिक घटनाक्रमहरुको बारेमा एमालेको धारणा राखिने देवकोटाले बताए ।