© 2026
पाल्पा, २५ चैत ।
नेपाली सेनाले तेस्रो ऐतिहासिक ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ सुरु गर्ने भएको छ । नेपाली सेना, स्थानीय तह र नागरिकको समन्वयमा यही चैत्र २८ गतेदेखि पदयात्रा सुरु गर्न लागिएको दि फेमस महेन्द्र दल गणले जनाएको छ ।
गोरखाबाट सुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुँदै पाल्पाको रामपुर यही वैशाख २ गते आइ पुग्ने र पाल्पाको टोलीले रूपन्देहीलाई हस्तान्तरण गरेपछि जितगढी पुगेर समापन हुने गणपति प्रमुख सेनानी भूपेन्द्र गुरुङ्गले जानकारी दिए । यात्राले गढी, किल्ला, दरबार तथा एकीकरणको क्रममा प्रयोग भएका मार्गहरू पहिचान गरी, संरक्षण, सम्वद्र्धन र विकास गर्न सघाउ पुग्ने विश्वास लिइएको छ । सेनाले विसं २०७९ देखि गोरखा दरबार जितगढी एकीकरण मार्गमा पदयात्रा सुरु गरेको थियो ।
यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेका पाँच पल्टन पुरानो गोरख, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ र जितगढीको लडाइमा भाग लिएका गुरुबक्स पल्टनका ५३ जनाको टोली सहभागी हुनेछन । गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई उज्यालोको प्रतिकस्वरूप टर्च हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पदयात्राका संयोजक सेनानी जित बहादुर कार्कीले जानकारी दिनुभयो । नेपाल र तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीबीच भएको लडाइमा विजय प्राप्त गरेको दिन वैशाख ७ गतेलाई विजय उत्सवको रूपमा मनाउँदै आइएको छ ।
नेपाल अङ्ग्रेज युद्धको क्रममा रूपन्देहीस्थित जितगढी किल्लामा भएको लडाइमा विजय प्राप्त गरेको दिनलाई वर्तमान समयमा स्मरणीय बनाउन नेपाल सेना र बुटवल उपमहानगरपालिकाले हरेक वर्ष वैशाख ७ गते विजय उत्सव दिवसका रूपमा मनाउँदै आएको छ । पदयात्रमा नेपाली सेन, स्थानिय, सम्बन्धित पालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागितामा पञ्चेबाजा, नेपाली सेनाको ब्यान्डमा नाच्दै गाउँदै भव्य रूपमा उत्सव गरि मनाउँदै आईएको छ । जितगढी किल्लामा विसं १८७२ वैशाख ७ गते नेपालसँग हारेपछि अङ्ग्रेज सेना फिर्ता भएका इतिहासका जानकार बताउँछन ।
नेपाली सेनाले सैनिक नागरिक सम्बन्धको सुमधुर सम्बन्धलाई कायम गरि थप विस्तार गर्न पदयात्राले सहयोग पुग्ने भएकोले पायक पर्ने ठाउँहरूमा सेनासँगै पदयात्रा कार्यक्रममा सहभागी हुन,स्थानीय नागरिक, समुदाय, टोलक विकास संस्था, विद्यालय अन्य संघसंस्थालाई आग्रह समेत गरेको छ । तत्काली समयमा राज्य एकिकरणको क्रमम प्रयोग भएका सम्पादहरू गण, किल्ला, मार्ग देखि नेपाल–अंग्रेज युद्ध र नेपाली सेनाको विरासतसँग जोडिएका ऐतिहासिक दस्ताबेज, महिमालाई नयाँ पुस्ता माझ पुर्नताजगी गराउन पदयात्राले सहयोग पुग्ने अपेक्षा सरोकारवालले गरेका छन । आजको अन्तक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, जिल्ला स्थित नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधि एवं प्रतिनिधि, जिल्ला स्थित चार वटै सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।