© २०२३
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले तलब नपाएको समस्यामा अझै समाधान नपाए सात दिनभित्र कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। स्थानीय तह कर्मचारी संघका अध्यक्ष नारायणप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै समस्या समाधानका लागि महानगरपालिकाले पहल नगरे कडा संघर्षका कार्यक्रम घोषणा गरिने बताएका छन्।
सर्वोच्च प्रशासनिक अधिकारीको अभावका कारण महानगरका कर्मचारी तीन महिनादेखि तलब नपाएका छन्। यसले प्रशासनिक काममा पनि विघ्न सिर्जना गरेको छ। संघले यसको जिम्मेवारी महानगरपालिकामाथि राख्दै तलब वितरण नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
विज्ञप्तिमा संघले भनेको छ, “समस्याको समाधानका लागि समन्वयकारी कदम उठाउनुको सट्टा सामाजिक सञ्जालमा उत्तेजक र अवाञ्छित भाषाको प्रयोग गरेर समस्यालाई झन् जटिल बनाउन खोज्नु भनेको जिम्मेवारीबाट भाग्नु हो।” कर्मचारीहरूले तलब र प्रशासनिक समस्याको शीघ्र समाधानको माग गर्दै आन्दोलनको तयारी थालेका छन्।