© २०२३
सुर्खेत,१२ चैत ।
सुर्खेतको वीरेन्द्रनगर स्थित मेडिकलमै लागुऔषध कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कालिकोट तिलागुफा नगरपालिका–६ का ३२ वर्षीय नन्दबहादुर शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । शाहीले वीरेन्द्रनगर नगरपालिका–७, मिलन चोकमा ‘स्मरण’ मेडिकल सञ्चालन गर्दै आएका थिए । उनलाई विशेष सूचनाका आधारमा सुर्खेत सोमबार बेलुका सात बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक विरेन्द्रविर विश्वकर्माले जानकारी दिए ।
‘उनको मेडिकलभित्र ड्रममा चामल राखेर त्यसभित्र लुकाई राखिएको अवस्थामा ४ हजार ८ सय लागुऔषध (ट्रामाडोल) ट्याब्लेट बरामद गरेका छौ’ प्रहरी नायव निरीक्षक विश्वकर्माले भने, ‘मेडिकलको आडमा उहाँले लागुऔषध धन्दा गरेका रहेछ ।’
यसअघि पनि लागुऔषध कारोबारमा पक्राउ परेका शाहीबारे प्रहरीले पुराना मुद्दाहरूबारे पनि अध्ययन गरिरहेको छ । ‘यसअघि पनि हामीले उहाँलाई कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेका थियौ’ विश्वकर्माले भने, ‘त्यतिबेला थोरै परिणाममा मात्र भेटाएका थियौ र सम्झाई बुझाई गरेर पठाएका थियौ तर, अहिले ठूलो परिणाममा भेटिएको छ अहिले लागुऔषध काराबार अन्र्तगत मुद्दा चलाउने तयारी भएको छ ।’