© २०२३
सुनवल, ११ चैत ।
हरेक वर्ष क्षयरोगीको संख्या बढ्दै गएको पश्चिम नवलपरासीमा क्षयरोगबाट १३ जनाको मृत्यु भएको छ । दुई वर्ष अगाडि क्षयरोग पहिचान भएका उनीहरूको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु भएका सबै वृद्धअवस्थाका व्यक्ति छन् । क्षयरोग लागेको ढिलो पहिचान भई उपचारको दायरामा आउन नसक्दा उनीहरूको मृत्यु भएको जनस्वास्थ्य अधिकृत जान मोहम्मद पठानले बताए । जिल्लामा क्षयरोगीको उपचार दर ९३ प्रतिशत मात्र सफल भएकाले रोगीको पहिचान गरी समयमै उपचारको दायरामा ल्याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । जिल्लामा हरेक वर्ष क्षयरोगीको संख्या बढ्दो छ । पछिल्लो ६ महिनामा २ सय १ जना नयाँ क्षयरोगी भेटिएका छन् । क्षयरोग दिवसको पुर्वसन्ध्यामा परासीमा स्वास्थ्य कार्यालयले आयोजना गरेको सरोकारवालाबिचको अन्तक्र्रिया कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरिएको हो ।
क्षयरोगीहरूले जिल्लाका विभिन्न ६१ स्थानमा रहेको डट्स केन्द्रबाट औषधी खाइरहेका छन् । ग्रामीण भेगमा पुगेर शङ्कास्पद ब्यक्तिको जाचंगर्नेक्रम बढेपछि रोगीको संख्या पनि वर्षेनी बढ्दो रहेको छ । आर्थिक वर्ष २०७९/८० मा ४ सय ७ जना क्षयरोगी भेटिएकोमा गत आर्थिक वर्षमा ५ सय २० नयाँ क्षयरोगी भेटिएका थिए । चालु आर्थिक वर्षमा पनि खोजपड्ताल कार्यक्रम संञ्चालन गरी ८ सय रोगी पत्ता लगाउने लक्ष्यको साथ काम भैरहेको स्वास्थ्य कार्यालयका प्रमुख भेषराज शर्माले बताए । पछिल्लो छ महिनाको अवधिमा गरिएको परीक्षणका क्रममा रामग्राम नगरपालिकामा ४३, बर्दघाट नगरपालिकामा ४२, सुनवल नगरपालिकामा ३३, सरावल गाउँपालिकामा २७, पाल्हिनन्दन गाउँपालिकामा २४, प्रतापपुर गाउँपालिकामा १५ र सुस्ता गाउँपालिकामा १५ जना रोगी भेटिएका छन् ।
ढिलो गरेर रोगको परिक्षण गर्ने र पुरा समय औषधी सेवन नगरेर स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने समस्या सीमावर्ती पालिकामा बढि देखिएको छ । जिल्लामा औषधि सेवन गर्दागर्दे बिचमै छाडेर १४ जना रोगी सम्पर्कविहीन भएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय तहले क्षयरोगका विषयमा समुदायमा पुगेर सचेतनाका अभियान सञ्चालन गर्नुपर्नेमा पनि स्वास्थ्यकर्मीहरूले जोड दिएका छन् । रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले रोगको पहिचान गर्न जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने बताईन् । समाजमा अपहेलित हुने डरले रोग लुकाउने प्रवृत्ति रहेको भन्दै उनले त्यसलाई रोक्न सबै पक्षको भूमिका आवश्यक रहेको बताइन् । नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुलीले सचेतनाका कार्यक्रम बढाएर स्थानीय तह संगको समन्वयमा काम गर्नुपर्नेमा जोड दिए । सोमबार देशभर क्षयरोग दिवस मनाइँदै छ । यो वर्ष दिवसको नारा हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौ भन्ने तय गरिएको छ ।