© २०२३
सुर्खेत,३ चैत । मध्यपश्चिम विश्वविद्यालयले आइतबार बिहान सुरु भइसकेको परीक्षा स्थगित भएको छ । स्ववियु चुनावलाई देखाएर सुरु भइसकेको ग्राजुएट स्कूल अफ ह्युमानिटीज एण्ड सोसल साइन्स अन्तर्गत स्नातक तहको पहिलो र सातौँ सेमेष्टरको परीक्षा स्थगित गरिएको हो । परीक्षामा सहभागी विद्यार्थीका अनुसार बिहान साढे ६ बजे सुरु भएर प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भइसकेका थिए । प्रश्नपत्र वितरण भएर लेख्न सुरु भएपछि एक्कासी परीक्षा स्थगित भएको विद्यार्थीले जनाए ।
विश्वविद्यालयले चैत १८ गते स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । परीक्षा स्थगित गराएको विषयप्रति विश्वविद्यालयले चरम लापरबाही गरेको भन्दै विद्यार्थीहरू असन्तुष्ट बनेका छन् ।
विश्वविद्यालय जारी गरेको सूचनामा चैत्र ३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं. १ अनुसार स्नातक तह प्रथम र सातौँ सेमेष्टरको परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको उल्लेख गरिएको छ । यद्यपि कारण भने खुलाइएको छैन । विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा शोभाखर कँडेलले स्ववियु चुनावकै कारण स्थागित भएको जनाएका छन् ।