© २०२३
चारनम्बर, ०३ चैत्र ।
बिहीबारदेखि नेपाली चलचित्र ‘अञ्जिला’ रिलिजमा भएको छ । ‘अञ्जिला’ लाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् ।
चलचित्र ‘अञ्जिला’ नेपाली फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनसंघर्ष र सफलताको कथा हो । सोही चलचित्र बाणगंगाका दुई खेलप्रेमी युवा समाजसेवी सुसिलसिंह ठकुरी र शंकर कार्कीले संयुक्त रूपमा १३३ जना बालबालिका (मुख्यतः किशोरी) लाई निःशुल्क रूपमा देखाउँदै छन् । यी दुई युवाले कपिलवस्तुको चारनम्बर जीतपुरमा रहेको ओएसिस सिनेमामा सो चलचित्र निशुल्क रूपमा देखाउन लागेका हुन् । १८ बर्ष मुनिका किशोरीहरूलाई फुटवल खेलप्रति प्रोत्साहन गर्ने उद्देश्यसहित शनिबार विहान ९ बजे उक्त चलचित्र निःशुल्क रूपमा देखाउन लागेको सुसिलसिंह ठकुरीले बताए । सिट समयमै सुरक्षित गर्नको लागि ९८५७०५२००१ मा सम्पर्क गरी नाम र ठेगाना टिपाउनुपर्ने उनले बताए । उनले कपिलवस्तु, रूपन्देही, अर्घाखाँची जहाँसुकैका १८ बर्षमुनिका बालबालिकाहरूले फिल्म हेर्नको लागि सम्पर्क गर्न सक्ने स्पष्ट पारे ।
उनले फिल्म हेरिसकेपछि बालबालिकालाई फुटवलप्रति थप लगाव, रुचि र प्रेरणा मिल्ने बताए । भविष्यमा यीनै बालबालिकाहरू नेपाली राष्ट्रिय महिला फुटवल टोलीबाट खेल्ने सपनासहित फुटवलमा कडा परिश्रमसहित लाग्ने उनको विश्वास छ । ती १३३ जनामध्ये लक्की ड्रमार्फत १० जनालाई छनोट गरि एक÷एक ओटा फुटवल उपहार दिईने शंकर कार्कीले बताए । उनले भखरै मात्र दोस्रो मुख्यमन्त्री तिलौराकोट गोल्डकप सम्पन्न गरिएको र सैनामैना गोल्डकपको उपाधि कपिलवस्तुले जितेको बताउँदै यस क्षेत्रका किशोरीहरूको फुटवलमा सहभागिता वृद्धि गर्न यसले मद्दत गर्ने बताए । हलका संचालक रामु तामाङले दुई खेलप्रेमी युवाहरूको यो सोच निकै पृथक रहेको बताउँदै यसले चलचित्र क्षेत्रसंगै समाजमा नै सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले विहिबार मात्र रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ ले राम्रो दर्शकबाट राम्रो प्रतिक्रिया पाएको बताए ।यो चलचित्रमा मुख्य भूमिकामा एञ्जिलासँगै दयाहाङ राई, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ ।