© 2026
बुटवल, २९ फागुन । विश्व मृगौला दिवस २०२५ बुटवलमा सचेतनामुलक कार्यक्रम गरि मनाईएको छ । ‘के तपाईको मृगौला ठिक छ?’ नारासहित विहिबार गौतमबुद्घ सामुदायिक मुटु अस्पतालको आयोजनामा डेढ दर्जन बढि ब्यवसायिक र सामाजिक संस्थाहरुको सहभागितामा सचेतनामुलक रयाली तथा कार्यक्रम गरि मनाईएको हो ।
रामनगरस्थित मुटु अस्पतालदेखी निस्किएको रयालीमा सहभागीहरुले स्वस्थ मृगौला, खुशी जिवन, उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गरौ, डाक्टरको सल्लाहबिना जथाभावी औषधी सेवन नगरौ, एकचोटी मृगौला फेल भयो भने जिन्दगी बिग्रन्छ, मृगौला रोग रोक्न सकिन्छ । शुरुवात कहाबाट? तपाईआफैबाट लेखिएका प्लेकार्डसहित ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा मृगौला रोग विशेषज्ञ डा.रजत कायस्थले मृगौला रोगको रोकथाम, उपचार र प्रत्यारोपण सम्बन्धी जानकारी प्रदान गर्दै विश्वमा नै नसर्ने रोगको अवस्थाबारे प्रकाश पारे । मृगौला रोगको कारण, लक्षण र रोकथामको बारेमा घरघरमा सचेतना जगाउन जरुरी रहेको उनले बताए । नेपालीहरुको स्वस्थ जीवनशैली, नियमित स्वास्थ्य परीक्षण तथा पानीको पर्याप्त सेवनले मृगौला स्वास्थ्यलाई मजबुत बनाउन सकिनेमा उनले बताए ।
कार्यक्रम मुटु अस्पतालका अध्यक्ष एजाज आलमले मृगौलाबारे समयमा नै सचेतना अप्नाउन सके ठूलो क्षति रोक्न सकिने बताए । विश्वमा नै मुटु र मृगौलाको पिडितहरु बढ्दो रहेको भन्दै यसका बारेमा सचेतना आजको आवश्यकता भएको उनले बताए । ‘कम्तिमा ६ महिनामा आफनो मृगौला परिक्षण जरुरी छ ।’–उनले भने । मृगौला रोगबारे जनचेतना अभिवृद्धि गर्न आगामी वर्षहरूमा समेत यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताए ।
कार्यक्रम मुटुरोग विशेषज्ञ डा. समीर गौतमले नेपालीको घरघरमा स्वास्थ्य चेतना आजको आवश्यकता भएको बताए । रोग लाग्नबाट रोक्न सकिने उत्तम उपाय सचेतना र अभिमुखिकरण भएको भन्दै उनले सामाजिक संजाललाई उपयोग गर्न सकिने तर्क दिए ।

यता सिद्धबाबा हस्पिटलमा चिकित्सक, नर्स र मृर्गौला बिरामीहरुबिच विश्व मृगौला दिवस सचेतनामुलक कार्यक्रम गरि मनाईएको छ । नेपाल किड्नी फाउण्डेसनको आयोजनामा अस्पताल परिसरमा भएको कार्यक्रममा फाउण्डेसनका अध्यक्ष डा शक्ति बस्नेतले मृर्गौला रोग, उपचार विधि र यसमा अप्नाउनुपर्ने सचेतनाबारे जानकारी दिएका थिए । सामाजिक संजाल आजको प्रभावकारी माध्यम भएको भन्दै उनले मृर्गौला रोगका बारेमा बढीभन्दा आफुले जानेका ज्ञानका कुरा सामाजिक संजालमा दिनसमेत उनले आग्रह गरे । नेपालमा हाल कुल जनसंख्याका १० प्रतिशत अर्थात ३० लाख जना मृर्गौला सम्बन्धी कुनै न कुनै समस्या रहेको तथ्याक दिदै उनले नसर्ने रोग विश्वमा मृत्युको कारण बन्ने दर बढ्दो रहेको बताए ।