© २०२३
समय परिवर्तनशील छ। न त यसलाई रोकेर रोक्न सकिन्छ न त छोपेर आफ्नो वहसमा राख्न सकिन्छ । गतिशील समयसँगै समयको घडी अनवरत घुमिरहेको छ । हो परिवर्तनको छालले समाजलाई बिस्तारै बिस्तारै नयाँ मोडतर्फ डो¥याइरहेको छ । समयको रफ्तार सगै नयाँ पुस्ता तिव्र बेगमा आँधी जस्तो गरी अघि बढिरहेको छ । सपनाहरूको भारी बोकेर, परिवर्तनको हुटहुटीले जलेर युवा पुस्ताहरु भविष्य निर्माणको बाटो खोजिरहेका छन् । भौतिक पूर्वाधार मात्र होइन, सभ्यताको स्तर उकास्ने हुटहुटी जागिरहेको छ । आत्मनिर्भर अर्थतन्त्र, सुशासन, र नवप्रवर्तनको स्पन्दन युवा पुस्ताको मुटुमा बजिरहेको छ । प्रविधिको गतिशील संसारमा नेपाली युवाहरूले सिर्जनात्मकता, उद्यमशीलता, र आत्मनिर्भरताको उज्यालो बत्ती बाल्न खोजिरहेका छन् । वास्तवमा भन्ने हो भने युवाहरू सधैं परिवर्तनको संवाहक हुन् । इतिहास हेर्ने हो भने, सामाजिक, राजनीतिक तथा सांस्कृतिक रूपान्तरणका हरेक महत्वपूर्ण घटनामा युवाको बलिदान अमूल्य रहँदै आएको छ । चाहे राजनीतिक क्रान्ति होस्, सामाजिक सुधार होस् वा वैज्ञानिक आविष्कार – युवाको जोस, जाँगर र साहसले नै परिवर्तन सम्भव बनाएको हो ।
तर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई केलाएर हेर्ने हो भने युवाहरूको परिवर्तनकारी हुटहुटी केवल भावना र आवेगले ग्रस्त छ । पुराना दलका नेतृत्वकर्ता युवाहरू हुन्् या अहिले आएका नयाँ युवाहरू हुन् । युवाहरूमा देश बदल्ने तीव्र चाहना छ । तर कतिपय अवस्थामा, उनीहरूको अति रिस राग र घमण्ड अपरिपक्वपन र आवेगले परिस्थितिलाई अझ जटिल बनाइरहेको छ । स्पष्ट विचार बिना उठाइएका नाराहरू, निष्पक्षता बिना गरिएको आन्दोलन, अनि अध्ययन बिना गरिएको निष्कर्ष–यी सबै अपरिपक्व व्यवहारका प्रतिबिम्ब हुन् । शिक्षा लिएको छ तर उ विवेक प्रयोग गर्न सक्दैन, प्रविधिमा डुवेको छ । तर उ सत्य र असत्य छुट्टयाउन सक्दैन, आक्रोश पोख्छ तर उ समाधान खोज्न सक्दैन यस्ता प्रवृत्तिहरू हावी भएको छ । युवापुस्तामा साँच्चै भन्ने हो भने भयावह नै बन्दैछ । मिडियाको सस्तो प्रचारमा रमाउँदै वास्तविकता बुझ्न नचाहने बानीले युवाहरूलाई झन भ्रमको भुलभुलैयामा पु¥याइरहेको छ । एक्काइसौँ शताब्दीका आजका युवाहरू डिजिटल युगको माध्यमबाट । सूचना क्रान्ति गरेका छन् । अपरिपक्वपनको हतियार लिएर । सामाजिक सञ्जालमा भिडेका छन् । अपरिपक्क बहस चलाएका छन् । समस्या भेट्छन् तर समधान खोज्दैनन् । सूचना खोज्नु भन्दा सनसनीपूर्ण खबरमा रमाउने बानी बसिसकेको छ । सत्यताको खोज हुनुपर्ने हो, तर तिनीहरू हावादारी नाराहरू बेचेर, राजनीतिक एजेन्डाहरू पोस्ने धन्दामा छन् । एकथरी युवाहरू तिनै गलत सुचनाको प्रभावमा परेर, अध्ययन नगरी, वस्तुस्थितिको गहिराइमा नपुगी प्रतिक्रिया जनाउँछन् । तिनीहरुको हुटहुटी यथार्थ बुझ्ने भन्दा पनि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउने र रमाउने अनि ट्रेन्डिङ मुद्दामा मुछिनेमा सीमित हुन्छ । जोश जरुरी छ, तर होश बिना हिँडेको पाइला अक्सर खाडलतर्फ जानसक्छ । युवा जोशिलो हुन्छ, ऊ जोखिम उठाउन चाहन्छ । तर निर्णय हतारमा गर्नाले परिणाम भयावह हुन सक्छ ।
देशको दीर्घकालीन भविष्यबारे चिन्तन गर्नु सबै नागरिक, विशेष गरी युवाहरूको प्रमुख दायित्व हो । तर, आजका युवाहरू विभिन्न कारणले यो विषयमा गम्भीर रूपमा सोच्न सकेका छैनन् । मुलुकको दीर्घकालीन भविष्यबारे चिन्तन गर्नुपर्ने हो । राष्ट्र प्रति परिपक्व, उत्तरदायी र दूरदर्शी हुनुपर्ने हो । बिगतदेखि वर्तमानसम्म राजनीतिक घटनाक्रमका अबस्था अनि व्यवस्था– आन्दोलन र नीतिनियम लगायत माथि सुक्ष्म अध्ययन हुनुपर्ने हो व्यापक छलफल चलाउनुपर्ने हो तर त्यस्तो छैन । धेरै युवाहरू यी प्रश्नहरूमा गम्भीर रूपमा सोच्दैनन् । हतारको निर्णय लिन्छन्, जसले न त तिनलाई लाभ दिन्छ, न त देशलाई । एकथरी युवा राजनीति प्रति निस्क्रिय छन्, भने अर्कोथरी युवाहरू आवेगका साथ कुनै पनि समूहको पक्षधर बनिरहेका छन् । तिनले न त नेतृत्वको विवेकशीलता मूल्याङ्कन गर्छन्, न त नीतिगत विश्लेषण गर्छन् । राजनीति गर्न नजान्ने, तर राजनीतिक खेलाडीहरूका मोहरा बन्ने परिपाटीले नयाँ पुस्तालाई असहाय बनाइरहेको छ । परिवर्तन चाहनेहरूले आफैं राजनीतिमा प्रवेश नगर्ने, जिम्मेवारी लिन नचाहने, अनि बाहिर बसेर मात्र गुनासो गर्ने प्रवृत्तिले मुलुकको भविष्य अन्योलग्रस्त बनेको छ ।
वास्तवमा राजनीति भनेको राष्ट्र निर्माणको मेरुदण्ड हो, तर हाम्रो राजनीतिको स्थिति हेर्दा वर्तमान परिस्थितिको कुरा गर्दा नयाँ पुस्ताहरु राजनीतिबाट टाढा रहन चाहेको देखिन्छ । जुन राजनीतिमा उल्लासपूर्ण तरिकाले दीर्घकालीन योजना लिएर राजनीतिमा होमिनुपर्ने हो तर त्यो अनुपातमा अत्यन्तै न्यून देखिन्छ । अस्थिर राजनीति र अवसरको अभावले गर्दा पनि हुन सक्छ धेरै युवा विदेशिन बाध्य भएका छन् । पार्टीभित्र वरिष्ठ नेताहरूले युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्न हिचकिचाउने प्रवृत्तिले गर्दा पनि राजनीतिमा युवाहरूको आकर्षण नबढेको हो कि भन्ने प्रश्न चिन्ह खडा हुन्छ ।
केही हद सम्म भएपनि २०७९ को आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार लगायत नयाँ दल मार्फत युबाहरुको इन्ट्री त भयो तर उनीहरुको स्पष्ट एजेन्डा र रणनीतिक अभाव अपरिपक्वता र अनुभवको अभाव, संगठित शक्ति र दलगत व्यवस्थाको प्रभाव लगायत संसद्को काम, नीतिनिर्माण प्रक्रिया र राजनीतिक दलहरूसँग सम्झौता तथा समन्वयमा कमजोरी अनि सामाजिक सञ्जालको लोकप्रियता माथि निर्भर, आफूले गर्न सक्नेभन्दा बढी कामको अपेक्षाले गर्दा नतिजा सोचेजस्तो पाएनन् । पुराना दलहरू असफल भए भन्ने नारालाई मुख्य एजेन्डा बनाए । तर, वैकल्पिक नीति, योजनाबद्ध दृष्टिकोण र दीर्घकालीन रणनीति प्रस्तुत गर्न सकेनन् । चुनाव जित या हार पछि पनि धेरै स्वतन्त्र अथवा दलगत युवा प्रतिनिधिहरू राजनीतिक रूपमा सक्रिय रहने रणनीति बनाउन नसक्नु जस्ता कमजोरी पक्षहरू हाबी देखिनुले युवा पुस्ताको हुटहुटीमाथि आज प्रश्न चिन्ह खडा भएको छ । वास्तविक कुरा गर्ने हो भने युवा पुस्ताको हुटहुटी ऊर्जा हो, शक्ति हो । तर यो उर्जा सही मार्गमा प्रयोग भएन भने, यसले विनाश निम्त्याउँछ । हुटहुटीलाई योजनामा रूपान्तरण गर्नुपर्छ, अध्ययनशील बन्नुपर्छ, धैर्यताको पाठ सिक्नुपर्छ ।
निष्कर्ष :
नयां पुस्ताले केवल आशामा होइन, श्रममा विश्वास गर्नुपर्दछ । युवाहरुको हुटहुटी वचन भन्दा कर्ममा प्रकट हुनुपर्छ । युवाको राजनीतिक चिन्तन केवल विद्रोह वा भावना होइन, दूरदर्शिता, अध्ययन, व्यावहारिक समाधान र समाज सुधारको अभियान हुनुपर्छ । राजनीतिमा युवाहरूले जिम्मेवार भूमिका निभाए मात्र मुलुकको दीर्घकालीन भविष्य सुरक्षित गर्न सकिन्छ । त्यसैले युवाले छोटो समयका फाइदा भन्दा पनि दीर्घकालीन रणनीति, नीतिगत स्थायित्व, र दिगो विकासमा केन्द्रित हुनुपर्छ । समान अवसर, समान अधिकार र समावेशितालाई प्राथमिकता दिने सोच बोक्नुपर्छ । युवाले परम्परागत ढर्राभन्दा नवीन समाधानहरू खोज्नुपर्छ । युवाले पारदर्शिता, इमानदारी र उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ । नेता बन्ने चाहना राख्ने वा राजनीतिको अध्ययन गर्ने युवाले नारा र भावनामा मात्र बहकिनु हुँदैन । राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र समृद्धिलाई आत्मसात गर्दै भ्रष्टाचारमुक्त राजनीति गर्न सक्नुपर्छ । विकासमुखी र नवप्रवर्तनशील, एकता र स्थिरता, दीर्घकालीन योजना अनि राष्ट्रियता प्रति सक्रिय सहभागिता चाल्न सक्नुपर्छ ।
राजनीति भनेको केवल सत्तामा पुग्ने खेल मात्र होइन, यो मुलुकको नीति निर्माण गर्ने, आर्थिक विकासको मार्ग कोर्ने, सामाजिक समानता कायम गर्ने र जनताको भलाई सुनिश्चित गर्ने साधन हो । देश परिवर्तन एक दिनको अभियान होइन, यो निरन्तर परिश्रम, अध्ययन, आत्मचिन्तन, र विवेकसहितको यात्रा हो । यदि युवा पुस्ताले आफ्नो हुटहुटीलाई सही दिशामा मोड्न सक्छ भने, नेपालमा समृद्धिको उज्यालो दिन पक्कै आउनेछ । त्यसैले अब हामी केवल हुटहुटिने कि सही मार्गमा हिँड्ने ? समयले उत्तर मागिरहेको छ ।