© २०२३
हामी शिक्षण पेशामा रहेको समयमा रूपन्देही जिल्लाको भैरहवास्थित शिक्षक तालिम केन्द्रमा एक महिने विद्यालय व्यवस्थापन तालिममा सहभागी भएका थियौं । सोही तालिम केन्द्रमा लुम्विनी र राप्तीका आठ जिल्लाका शिक्षकहरूको सहभागिता थियो । त्यस तालिममा केही पुराना पाका र केही नयाँ शिक्षकहरूको जमघट रहेको थियो । पच्चीस जनाको एउटा कक्षा त्यसमा पनि पाँचजनाको एउटा समूह हुने व्यवस्था अनुसार हामी पहिलो कक्षा अर्थात ए सेक्सनको घ समूहमा थियौं । सोही समूहमा दाङबाट दुईजना, प्युुठानबाट एकजना, अर्घाखाँचीका एकजना र गुल्मीबाट एकजना साथीहरू मिलाएर एउटा समूह बनाइएको थियो । पहिलो दिन परिचयात्मक कार्यक्रम भयो । सबै प्रशिक्षकहरूले आलोपालो कक्षा लिएर सबै कक्षाका शिक्षकहरूसंग परिचय लिने दिने गर्नुभयो । दोस्रो दिनदेखि कक्षा सुचारु भयो । विद्यालय व्यवस्थापन भने पछि प्रधानाध्यापकलाई दिइने तालिम हो ।
तालिम केन्द्रमा हामी भन्दा पहिले तालिममा जानेहरूले सुनाए अनुसार दाङ, प्युठान र रोल्पाका शिक्षकहरूलाई अलिक हेयको दृष्टिले हेरिन्छ भन्ने कुरा सुन्नमा आएको थियो । दोस्रो दिन थोरै त्यसको झलक देखियो । प्रशिक्षकले व्यस्थापनका चुनौति के हुन सक्छन् सबैले दुई दुईवटा वुँदा टिपोट गर्न भन्नुभयो । अरू साथीहरूले कति टिपोट गर्नुभयो मैले भने ६ वटा वुँदा टिपोट गरें । आलोपालो सुनाउन भन्नुभयो । केही साथीहरूको एउटा वुँदा पनि रहेनछ । केहीको मात्र एउटा बुँदा र थोरै जनाको दुईवटा बुँदा रहेछन् । प्रशिक्षकले पालैपालो उठाउनु भयो । मेरो पालो अन्तमा आयो । मैले दुईवटा बुँदा सुनाएँ तर प्रशिक्षकले मैले भनेका बँुदा पाटीमा टिपोट गर्नुभएन । मैले पुनः थपें सर आज्ञा पाए अर्को बुँदा पनि भन्ने थिएँ । उहाँले सिधै अनुमति दिनु भएन तर मुन्टो हल्लाएर अनुमति जस्तो देखाउनु भयो । तेस्रो बुँदा भने पछि नबिसाइकन अर्को पनि छ भने उहाँ अलमलमा पर्नु भयो । मैले उहाँको अनुमति पर्खन लागिन बुँदा सुनाएँ । सबै साथीहरूले मेरो मुखमा हेर्न लाग्नु भयो । पुनः भने सर अरू चाहियो ? उहाँले मलाई बोर्डमा लेख्नका लागि भन्नुभयो । उहाँलाई यसले कतैबाट चिटिङगरेको हुन सक्छ यसर्थ सबै बुँदाको व्याख्या गर्न लगाएर लज्जित बनाउँछु भन्ने जस्तै गरेर बुँदा टिपोट पनि व्याख्या गर्न भन्नुभयो । मैले झण्डै १५ मिनेट समय लिएर विद्यालय व्यवस्थापनमा आउने चुनौतिको वारेमा व्याख्या गरें । उहाँले “घर काँ ?” भन्नुभयो, मैले “दाङ” भने । उहाँ एकसय असी डिग्रीबाट फर्कनु भयो । अनि धाप मार्दै भन्नुभयो– थप के गर्नुहुन्छ । मैले भने पत्रकारिता गर्छु अनि पत्रिकामा नियमित लेखहरू लेख्छु ।
तेस्रो दिन आफ्नो क्षमता प्रर्दशन गर्ने शुक्रबारे कार्यक्रम रहेछ । प्रशिक्षकलाई “आजको कार्यक्रम सञ्चालनको लागि अनुमति पाए म मञ्चमा जाने थिएँ” भनँे । उहाँले तालिम केन्द्र प्रमुख डम्वरध्वज थापासंग मेरो कुरा राख्नुभयो । थापा जीले सिधै अनुमति दिनु भएन तर सञ्चालनको काम अलिक रोचक हुनुपर्छ भन्नु भएछ । अनि प्रशिक्षक मेरो नजिकमा आएर केही समयको लागि मात्र भनेर अनुमति दिनुभयो । जब मञ्चमा पुगेर दुई शब्द राखें सहभागिबाट जोडले ताली आयो । तालीको साथमा संगीतका सामग्री चले त्यही मौका छोपेर म मञ्चमा नाच्न थालें । तालिम केन्द्र प्रमुख थापा सरले पुनः प्रशिक्षकलाई कानेखुशी गर्दै केही भन्नुभयो । आधाघण्टा कार्यक्रम चलाएपछि प्रशिक्षकका सामु गएर भने “सर ! अव मञ्चबाट ओर्लुं ?” उहाँ प्रसन्न मुद्रामा देखिनु भयो अनि भन्नुभयो– “ल बाँकी पनि तपाईको पालो” । एउटा अनौठो के रहेछ भने त्यसभन्दा पहिले कुनैपनि प्रशिक्षार्थी शिक्षकले त्यसरी कार्यक्रम चलाएको रेकर्ड रहेनछ ।
त्यसदिनको कार्यक्रमले उता आठ जिल्लाका ७५ जना शिक्षकका माझमा परिचित हुने अवसर दियो भने यता प्रशिक्षकबाट दाङ भनेर जुन हेप्ने बानी रहेछ त्यो पुरै हटेर गयो । एक महिनाको सयममा त्यहाँ हुने गरेका सबै कार्यक्रमका समाचारहरू दैनिक लुम्विनी, दाङको युगबोध दैनिक र वुटवलको रेडियो लुम्विनीबाट प्रसारण हुन लागे । यो पत्रकारिता र साहित्यले दिएको साहस थियो । यो प्रसंग विर्सन नसकिने रहेको छ र अरूका लागि पनि प्रेरणादायी हुन्छ भन्ने लाग्दछ । आफूलाई अपहेलना गर्नेलाई आफ्नो क्षमताले प्रभाव पार्नु पर्दछ भन्ने यसको आसय हो । दोस्रो प्रसंग यस्तै रोचक खालको छ । रूपन्देही जिल्लाबाट सहभागी पाण्डे थरका शिक्षक साथी हुनुहुने रहेछ । उहाँमा हरसमय अति ठूला कुरा गर्ने स्वभाव रहेछ । बाटोमा आउँदा जाँदा या कहिले बजार जाँदा आउँदा कतिवेला खुमबहादुर खड्काको आफू अति निकट रहेको र आफू शिक्षक संघको पिलर भएको धक्कु दिनुहुन्थ्यो । हामी नेराशी संगठनमा आवद्ध भएपनि खुलेर कुरा गर्दैनथ्यौं । हामी तालिममा सहभागी भएको २०५९ साल भाद्र महिनामा हो । त्यो समयमा म प्रगतिशील लेखक सङ्घ दाङ शाखाको अध्यक्ष थिएँ । त्यही नाताले प्रलेस रूपन्देहीले एउटा कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्त्याएको थियो । त्यस दिन कविता वाचनका साथमा दाङका अध्यक्षलाई सम्मानको कार्यक्रम रहेछ । दुबै कार्यक्रम सम्पन्न भए । भोलीपल्ट पत्रपत्रिकामा समाचार प्रकाशित भयो । हामीले भन्न नसकेका कुरा समाचारले उजागर गरिदियो । ती पाण्डे सरलाई मसंग बसेर गफ गर्ने र अरू साथीहरूलाई देखाउने सोंचाइ आएछ । उहाँले विना मेसोको कुरा गर्ने हुनाले हामीले त्यति नजिक भएर कुरा गर्न रुचाउने गर्दैन्थ्यौं । उहाँले यही प्रसंगमा मलाई एउटा प्रश्न सोध्नु भयो “तपाईंका छोरा छोरी कति छन् ?” मैले उहाँको प्रश्नको उत्तर दिन छोडेर झट्ट भने कसैको पनि व्यक्तिगत मामलाका कुरा सोध्नु उचित हुँदैन । उहाँ एक्कासी उठेर जानुभयो । अनि त कतिपय साथीहरूसंग पदम सरका दुईवटी श्रीमती छन क्या हो भन्नु भएछ । दुई दिन पछि साथीहरूले यही कुरा सुनाउनु भयो अनि मैले उहाँलाई तालिमकेन्द्रको तालिम पश्चात भेट हुने कुरा गरें ।
समय मिलाएर तालिम केन्द्रको प्रतीक्षालयमा बसेर गफ भयो । मैले भनेँ कसैका पनि छोरा छोरी, घर जमिन यस कारणले सोध्नु हुँदैन भनेर अलिक जोड पुग्ने हिसाबले बताएँ । अनि भने मेरा दुईवटी श्रीमती छैनन् । तपाई जस्तो नेता शिक्षकले यस्तो कुरा भन्दै हिंडने हो ? प्रश्न गरें । उहाँ रुझेको विरालो जस्तो हुनुभयो । उहाँलाई मैले कसैको घर दुई कोठाको भए के भयो ? दश कोठाको भए के भयो ? यस्तै दश विगाहको मालिक भए के भयो ? दश धुरमा घर बनाएको भए के भयो ? फेरी घर जमिन जस्तो र जति भए पनि कसैले थप्ने पनि होइन घटाउने पनि होइन । यस्तै कसैका छोरा नहुन सक्छन् , कसैका छोरा छोरी दुर्बै नहुन सक्छन् । अथवा छोरा भए पनि सन्तोष दिने खालका नहुन सक्छन् । कतिपय छोराहरू जीवनभर बाबु आमाको मान मर्दन गर्न खोज्ने र सधै रकम मागेर सताउने खालका पनि हुन्छन् । यस्ता सन्तान भएका बाबुले छोरा छोरी सोध्यो भने मनमा कस्तो कल्पना गर्छन ? यसकारण कुनै पनि अवस्थामा यस्तो प्रश्न गर्नु हुँदैन भनेको थिएँ । यसले उहाँको घैंटामा घाम लागेछ । उहाँले त्यसपछि मेरो जीवनको पहिलो गुरु भनेर भन्न लाग्नुभयो ।