© २०२३
नवलपरासी,०६ माघ ।
जिल्लामा जलनिकास व्यवस्थापनमा योगदान पु¥याउने लिटिल गण्डक नामक घोल अतिक्रमण हुँदै र पुरिँदै जाँदा दर्जनौ गाउँ डुबान हुने कारक बनेको छ । विगत पाँच दशक पहिला २०२८ सालमा गण्डक (नारायणी नदी) को बाँध भत्किएर धार परिवर्तन भई बनेको घोल (लिटिल गण्डक) अहिले पुरिदै जाँदा दर्जनौं गाउँ डुबानमा पर्ने गरेको छ ।
भारतीय सीमावर्ती क्षेत्रमा रहेको प्रतापपुर गाउँपालिका हुँदै सरावल गाउँपालिका भएर सो लिटिल गण्डक घोलले बर्षाैदेखि जलनिकासमा योगदान गर्दै आएको छ । झण्डै ६ किलोमिटर लामो र सरदर ३० मिटर चौडाई भएको लिटिल गण्डक घोल हो । तर अहिले उक्त घोल ठाउँ ठाउँमा दुई मिटरसम्ममा खुम्चिएको अवस्था छ । यसले प्रतापपुर र सरावलका एक दर्जन बढि गाउँ बस्तिको जलनिकास थुनिएर डुबानको खतरा बढाएको छ । स्थानीय बस्ती तथा खेतबारीका पानी बगाउँदै झरही नदीमा पु¥याउने एक महत्वपुर्ण जलनिकास गर्ने प्राकृतिक घोल स्थानीयबासीकै अतिक्रमणले साँगुरो हुँदै जाँदा बर्षायाममा डुबानको कारण बन्दै गएको सरावल–७ भुजहवाका मुराली मौर्यले बताए । लिटिल गण्डक यस क्षेत्रको जलभण्डार राख्ने स्रोत पनि हो, उनले भने, हिउँदमा बालीनालीमा सिंचाई गर्ने पानीको स्रोत हो । बर्षायाममा पानीको निकास हुने घोल पनि हो । गण्डक नदीको बाँध फुटेर बाढी आउँदा प्राकृतिक रूपमा पानी बग्ने घोलको रूपमा परिणत भएको थियो ।
पछिल्लो समय मानविय अतिक्रमणमा सो घोल परेको छ । यसले स्थानीय बस्ती नै डुबान पनि हुने गरेको छ । बर्षायाममा लिटिल गण्डक सम्झने तर हिउँदमा त्यही लिटिल गण्डकको उपेक्षा गर्दै अतिक्रमण गर्ने गरिएको छ । लिटिल गण्डकलाई सरसफाई गर्नका लागि बेला बेला स्थानीय सरकार तथा नेपाल गण्डक पश्चिमी नहर सिंचाई प्रणाली व्यवस्थापन कार्यालयमा कुरा पनि उठ्ने गर्छ । तर चर्चाको विषय हुने र सफाईका योजना नबन्दा दिन प्रति दिन लिटिल गण्डक घोल अतिक्रमणमा छ । वरिपरिका व्यक्तिले त खनजोत गर्दै अतिक्रमण त बढाएकै छन्, उनले थपे, सरकारी निकायको संरचना निर्माण गर्दा पनि त्यो घोल नै सरकारी अतिक्रमणको निसानामा पर्ने गरेको छ । उनले अतिक्रमण सरकारी तथा सामुदायिक रूपमा अतिक्रमणको अवस्था देखाउँदै भने, घोल तर्फ नै विस्तार गर्ने गरि सामुदायिक वृक्षरोपण गरिएका छन् । कतिपय ठाउँमा शब गाड्ने कब्रिस्थानहरू बनाइएका छन् । मन्दिर, विहार, विद्यालयहरू पनि घोलको किनारमा बनाउँदै जाँदा अतिक्रमणको चपेटामा परेको देखिन्छ । अहिले सरावल गाउँपालिका ७ नम्बर वडा कार्यालय पनि घोल नै पुरेर बनाईदैछ । प्रतापपुरमा पनि धेरै स्थानमा सरकारी तथा समुदायिक अतिक्रमण छ ।
घोल वरिपरी बनेका बस्तीलाई जोड्नका लागि ठाँउ ठाँउमा बनाइएका पुल, कलभर्टले पनि घोल साँगुरो भएको र यसले जलनिकासमा अवरोध हुने गरेको छ । सरकार र समुदाय नै जलनिकास प्रति गम्भिर नहुँदा सिमावर्ति क्षेत्रमा डुबान हुने गरेको संघिय सांसद राष्ट्रियसभाका पूर्व सांसद रामलखन हरिजनले बताए । सिंचाई जल उपभोक्ता महासंघका पूर्व महासचिव समेत रहेका पूर्व सांसद हरिजनले यसका लागि नेतृत्वदायी भूमिका नेपाल गण्डक पश्चिमी नहर सिंचाई प्रणालीले लिईएर ब्यवस्थापन गर्नु पर्ने जनाए । सिचाई र जलनिकास एक आर्काका परिपुरक हुन्,उनले भने, सिंचाई गरेर जलनिकास बनाइएन भने सो सिंचाई प्रणाली नै प्रतिपादक हुन्छ । यसका लागि स्थानीय सरकारले समेत सो प्रणालीलाई जानकारी गराई सहजिकरण गर्नुेपर्ने उनको सुझाव छ ।