Butwal Today

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी

३० जेष्ठ २०८३, शनिबार
अ+
अ-

बुटवल: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत प्रदेश सभापति पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

दाङमा जारी अधिवेशनमा नेतृत्व चयनका लागि प्रदेश उपसभापति शालिकराम घिमिरे, केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरे, केन्द्रीय विभाग सदस्य मधुप्रसाद अर्याल, केन्द्रीय विभाग सदस्य गणेश पौडेल, प्रतिनिधिसभाकी समानुपातिक सांसद मञ्जु ज्ञवाली भुसाल तथा बाँकेका डा. राजकुमार सुवेदी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

उम्मेदवारमध्ये शालिकराम घिमिरे पार्टी स्थापनाकालदेखि नै सक्रिय रहँदै प्रदेश सदस्य, कोषाध्यक्ष हुँदै हाल प्रदेश उपसभापतिको जिम्मेवारीमा छन्।

अर्का उम्मेदवार मधुप्रसाद अर्याल रास्वपा रुपन्देही–३ का क्षेत्रीय सभापति रहिसकेका छन्। उनी रुपन्देही–३ को उपनिर्वाचनका लागि प्रारम्भिक चरणमा छनोट भएका नौ उम्मेदवारमध्ये एक थिए। अर्याल शिक्षा तथा व्यवसाय क्षेत्रमा समेत सक्रिय छन्।

गणेश पौडेल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–२ बाट उम्मेदवार बनेर एमालेका उम्मेदवार विष्णु पौडेलसँग पराजित भएका थिए। उनी विभिन्न वामपन्थी राजनीतिक दलमा सक्रिय रहेपछि रास्वपामा आबद्ध भएका हुन्।

अर्की उम्मेदवार मञ्जु ज्ञवाली भुसाल हाल प्रतिनिधिसभाकी समानुपातिक सांसद हुन्। निर्माण व्यवसायमा समेत संलग्न भुसाल यसअघि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) मा आबद्ध रहँदै २०८२ सालमा रास्वपामा प्रवेश गरेकी थिइन्।

हालका प्रदेश सभापति देवराज पाठकले सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गरेका भए पनि उम्मेदवारी दर्ता नगर्ने निर्णय लिएपछि अन्य आकांक्षीबीच सहमतिको सम्भावना न्यून देखिएको छ।

अधिवेशनमा करिब ८४३ प्रतिनिधि मतदाता रहेका छन्। प्रदेश समिति, जिल्ला समिति, प्रदेशभित्रका केन्द्रीय पदाधिकारी तथा सदस्य, विभागका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रीय समितिका संयोजक–सहसंयोजक, स्थानीय तहका सभापति तथा पालिकाबाट मनोनित प्रतिनिधिहरू मतदाताको रूपमा सहभागी छन्।

रास्वपा विधान अनुसार लुम्बिनी समिति ५७ सदस्यीय हुने व्यवस्था छ। रास्वपाको विधान अनुसार पहिलो चरणमा प्रदेश सभापति र प्रदेश सदस्यको निर्वाचन गर्नुपर्दछ । दोस्रो चरणमा पदाधिकारीका लागि छुट्टै मतदान गर्नुपर्ने व्यवस्था विधानमा छ।

प्रदेश सभापतिमा निर्वाचित हुनका लागि कूल सदर मतको ५० प्रतिशत मत कटाउनु पर्दछ। खसेको मतको बहुमत कसैको पक्षमा नभएमा पहिलो र दोस्रो स्थान मत ल्याउने बीचमा पुन: प्रतिस्पर्धा हुनेछ। प्रदेश सभापतिको प्रतिस्पर्धामा २५ प्रतिशत मत कटाउने निकटतम् प्रतिस्पर्धीलाई स्वतः प्रदेश सदस्य हुने व्यवस्था छ।

प्रदेश समितिमा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, प्रवक्ता १/१ र सहमहामन्त्री २ जना (फरक फरक लिङ्ग) को हुने गरी पदाधिकारी गठन गर्ने व्यवस्था छ। सात जना पदाधिकारी मध्ये कोषाध्यक्ष र प्रवक्तालाई प्रदेश सभापतिको सिफारिसमा प्रदेश समितिले मनोनित गर्ने व्यवस्था छ।

आजै अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै रास्वपाका महामन्त्री भूपदेव शाहले निर्वाचन जितेर सरकारमा पुगे पनि पार्टीलाई अझै संस्थागत र सशक्त बनाउन बाँकी रहेको बताएका थिए । उनले आगामी महाधिवेशनबाट सक्षम नेतृत्व चयन भई पार्टी र देशलाई प्रगतितर्फ अघि बढाउने विश्वास व्यक्त गरे ।

सह–महामन्त्री विपिनकुमार आचार्यले नेतृत्वका लागि प्रतिस्पर्धा स्वाभाविक भए पनि पार्टीलाई सही दिशा दिन नसक्ने नेतृत्वले जिम्मेवारीबाट पछि हट्न सक्नुपर्ने धारणा राखे । उनले नेतृत्वको आकांक्षा राख्ने कार्यकर्तालाई धैर्य र संगठन निर्माणमा निरन्तर सक्रिय रहन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?