© २०२३
निर्वाचन प्रचार प्रसारको अवधी अव एक सातामात्र बाँकी छ । मंसिर १ पछि राजनैतिक दल र तिनका उम्मेदवारले प्रचार प्रसार गर्न नपाउने गरी निर्वाचन आयोगको आचारसंहिता आकर्षित हुन्छ । यही बेला हो– निर्वाचनप्रति आम मतदाता उत्कट अभिलाषासहित निर्वाचनको प्रचार प्रसारमा सहभागी हुने । तर, यो निर्वाचनमा युवाहरुमा त्यस्तो उल्लासपूर्ण सहभागिता देखिएन । खासगरी युवाहरुमा निर्वाचनप्रतिको लगाव र झुकाव भन्दा निरासा र विचलन बढी देखिएको छ । राजनीतिमा लाग्दाको जोश–जाँगर, उत्साह र क्रियाशीलता यो निर्वाचनले ल्याएको देखिएन । निर्वाचनमा युवाहरुमा सहभागी बढ्दो छ तर जुन उत्साह हुनुपर्ने हो त्यो विगतको अनुपातमा कमै छ । युवाहरु राजनीतिमा आस्था र निष्ठा अनि इमान्दारिताका साथ होमिएकै कारण विगतका ऐतिहासिक आन्दोलनले बहुदलीय व्यवस्था पुनस्र्थापना ग¥यो, राजा ज्ञानेन्द्रको राजशाहीलाई अन्त्य ग¥यो र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । राजनीतक चेतना भएको हरेक युवा युवति आफ्नो भविष्य र ज्यानको परवाही नगरी आन्दोलनमा होमियो । हरेक युवा वर्गको राजनीतिमा आकर्षण यति वढ्यो कि राजनीतिमा संलग्न नभएकाहरुले साथ संगत नै पाउने अवस्था थिएन । त्यो निष्ठा, त्याग–तपस्या र योगदानको कूल परिणाम संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति हो । तर, संघीयता प्राप्तिको छोटो समयमै युवाहरुमा निर्वाचनप्रति विचलन देखिएको छ । आखिर किन त ? यो प्रश्नको उत्तर खोज्नेहरुले युवाहरुको मनोविज्ञान बुझ्ने कोसिस गर्नुपर्दछ । विगत १० वर्ष अघिसम्म राजनीतिमा व्यापक युवा आकर्षण देखिन्थ्यो तर आज युवा बर्गमा राजनीतिप्रति आकर्षण छैन । दल पिच्छेका युवा विद्यार्थी संगठन त छन तर ति केवल औपचारिकतामा आधारित वा यान्त्रिक प्रकृतिका मात्र देखिन्छन् । निर्वाचनको बखतमा यदाकदा देखिने सक्रियताले साँचो अर्थमा सवै युवाहरुको प्रतिनिधित्व हो भन्न सकिदैन ।
युवाहरुलाई विगतदेखि नै अनेक ललिपप दिएर झुक्याउने काम भयो र उनीहरुलाई अवसरभन्दा बढी प्रयोग गरियो । आफ्नो दल वा गुटका कुनै नेताले जस्तोसुकै गल्ती वा कमजोरी गरे पनि सहेर बस्ने र चर्को स्वरमा सर्मथन गर्ने प्रवृत्तिले अर्को एउटा युवाहरुको समूह जसले त्यो शैलीप्रति वितृष्णा देखाउँछ उनीहरु पलायन हुने अवस्था आएको हो । राजनीतिमा देखिएको यो प्रवृत्तिले युवा पुस्ताको आकर्षण बढ्न सकेको छैन् । युवाहरुलाई राजनीतिप्रति आकर्षित गर्ने हो भने राजनीतिलाई निष्ठा, इमान्दारिता, मूल्य र मान्यतामा आधारित बनाउनु जरुरी छ । युवालाई सही मार्गमा लगाउने वा उनीहरुको भविष्यको ग्यारेन्टीको सवाल सही ढंगले सम्वोधन गरिनुपर्दछ । युवालाई हरेक क्षेत्रमा अवसर र सहभागिता दिनुपर्दछ । नेपालमा युवाहरुको संख्या कूल जनसंख्याको करिव ४० प्रतिशत छ तर समावेशी र सहभागितामूलक हिसावले उनीहरुलाई सधै पछाडी पारिएको छ । पछिल्लोसमय आम निर्वाचनमा युवा उम्मेदवारी बढेको छ । युवाहरुमा राजनीतिक चेत र जागरण आएको छ तर यसैलाई निर्वाचनप्रति युवाको आकर्षण बढेको अर्थमा लिन सकिदैन् । पछिल्ला केही निर्वाचन केन्द्रित गतिविधिले युवामाझ आशाको सञ्चार गरेपनि सहभागिताको सवालमा उनीहरुको निष्कृयताले चिन्ता थपेको छ ।