© २०२३
चन्द्रौटा, १० पुस ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३, खरेन्द्रपुरमा रहेको बाँध निर्माण हुने भएको छ । स्थानीयको समस्यालाई मध्यनजर गर्दै गौरवको योजना अन्तर्गत जवई सखुनिया ताल सिँचाई योजनाको बाँध निर्माणको लागि ९ करोड ४५ लाख बजेट विनियोजन भइ ठेक्का भएपछि निर्माण हुने भएको हो ।
बुद्धभूमि नगरपालिका वडा नम्बर–७, मानपुरमा रहेको सखुनिया ताल करिब एक सय बिगहामा फैलिएपनि व्यवस्थापन हुन नसक्दा स्थानीय किसानलाई मर्का परेको थियो । तालको हेड बक्स निर्माण हुने भएपछि तालको विकाससँगै कृषकहरूलाई सहज हुने भएको छ । यस क्षेत्रकै ठूलो क्षेत्रफलमा रहेको बाँध, नहर, ताल मर्मत हुनेभएपछि जलाशय हुनुकासाथै सिँचाई व्यवस्थापन हुने भएको स्थानीय गंगेशनाथ तिवारीले बताए । जलाशयको क्षेत्रफल बढेपछि स्थानीय पालिकाका नागरिकलाई प्रत्यक्ष लाभसँगै सिँचाई मात्रै नभएर रोजगारीको वातावरण सिर्जना भइ आर्थिक समृद्धि हुने उनको भनाइ छ ।
लुम्बिनी प्रदेश सभा सदस्य एवं वन तथा वातावरण पूर्व मन्त्री अर्जुन कुमार केसीले लामो समयदेखि बाँध निर्माण हुन नसक्दा स्थानीय कृषकहरूलाई समस्या हँदै आएको बताए । त्यसैलाई मध्यनजर गर्दै बाँध निर्माणको योजनालाई प्राथामिकतामा राखिएको उनले बताए । यस सिँचाई योजनाबाट शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका र महाराजगञ्ज नगरपालिकाका भारतिय सिमानाकासम्मका कृषकहरू लाभान्वित हुने मन्त्री केसीको भनाइ छ । सिँचाई व्यवस्थापन नभएकोले अन्नबाली उत्पादनमा कमी आएको बताउँदै बाँध निर्माण भएपछि उत्पादनमा बृद्धि हुने उनले जिकिर गरे ।
जिल्लामै प्रभावकारी सिँचाई व्यवस्थापन हुने जनाउँदै आम नागरिकहरूको समेत जीवनस्तरमा सुधार आउने केसीले बताए । योजनालाई स्थानीय अर्थतन्त्रको विकास र कृषकहरूको समृद्धिका लागि एक महत्वपूर्ण कदम रहेको समेत उनले दाबी गरे ।
करिब ३६ बर्ष पहिलेको मानव निर्मित रिजरवाइरमा बनेका थिए लगभग एक सय बिगहा पोखरी बनाए दक्षिण सीमानाकासम्मका अघि सारेको सिँचाई योजना केन्द्र सरकारले बीचमै छाडेको बताए । सतह सिँचाई योजनामा कृषकहरूको लागि कोसढुंगा सावित हुने जनाउँदै विगतका दिनमा आफू निर्वाचित भएदेखि नै प्रयास गरेको केसीले बताए ।
प्रदेश सरकारको गौरबको योजनामा २०७७/०७८ सालको बजेटमा नयाँ बाँधसहित २७ करोडको डिपिआर भएको बताए । विभिन्न समस्याले गर्दा ठेक्का लाग्न नसकेको बताउँदै पुनः निरन्तरता दिएको उनको भनाई छ । पानीको मुहान राम्रो रहेकोले हेड बक्स निर्माण गर्न सके जलाशयमा पानी पुगे बाह्रमासे सिँचाई गरी प्रभावकारी खेतीबाली उत्पादनमा टेवा पुग्ने पूर्व मन्त्री केसी बताउँछन् । करिब ३५ बिगहा जमिनमा जलायशय रहेको बताउँदै अनुमानित एक सय बिगहा रहेको उनले बताए ।
यस्तै शिवराज नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले यस वडा भएर नहर गएको हुनाले सिँचाई व्यवस्थापन प्रभावकारी रहेको बताए । बाँध (हेड बक्स) व्यवस्थापन हुन नसक्दा नहारमा पानीको अभावमा खेतीपाती गर्दा सिँचाईमा कठिनाई हुँदै आएको उनले बताए । सखुनीय तालको हेड बक्स निर्माण हुने भएपछि स्थानीय वडाबासीले हर्षित भएको अध्यक्ष सापकोटाले जनाए ।
स्थानीय कृषक अमिन मोहम्मद मुसलमानले करिब ४ दशक पहिले ताल सयौं विगहा क्षेत्रफलमा फैलिएको बताए । उनले भने “खरेन्द्रपुरदेखि भारतीय सिमानाको कजरहवा सम्मका हजारौं कृषकहरू सयौं हेक्टर क्षेत्रफलमा सिँचाइ गर्दथे । तर अहिले स्थानीयले अतिक्रम गरेर तालको क्षेत्रफल खुम्चिएको छ ।“ उचित व्यवस्थापन हुन नसक्दा किसानलाई मर्का परेको बताउँदै तालको जलाशय क्षेत्रभन्दा किसानको खेतमा पानी डुबान समेत पर्ने गरेको उनले जनाए । ताल ठेक्का प्रक्रियामा जाँदा ठेकेदार माछा पालन गरेको बताउँदै उनीहरूले आफ्नो अनुकूल पानी राख्ने र फाल्ने गरेको समेत मुसलमानले बताए । त्यसैले गर्दा तालमा रहेको पानीले समेत खेतीयोग्य जमिनमा अन्न फलाउन असहज भएको उनको भनाइ छ । कृषक मुसलमानले थपेः “किसानलाई खेती बालीमा चाहिएको बेला पानी नै नपाउने र नचाहिएको बेला पानीले अन्नबालीमा नोक्सानी बेहोर्नुपरेको छ ।“
oppo_2
यस समस्यालाई समाधान गर्न सके उत्पादनसँगै अन्नबाली पोकेट क्षेत्र बनाउन सकिनेमा उनले जोड्दिए । जसले गर्दा यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने मुसलमानको जिकिर छ । लुम्बिनी प्रदेश सरकारको गौरवको योजनामा परेपछि तालको विकासले गतिलिने कृषक मुसलमानले आशा व्यक्त गरे । र उनले भनेः ‘यसको विकासका लागि खरेन्द्रपुर बाँध (हेड बकस) देखि सखुनिया तालसम्म नहरको ढलानको उचित व्यवस्थापन गर्नुपर्छ ।’
बुद्धभुमि नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष शलिकराम यादवले सखुनिय तालको विकासका लागि हेड बक्स निर्माण हुने संकेत सकारात्मक रहेका बताए । किसानका लागि अत्यन्तै खुसीको खबर रहेको बताउँदै उचित व्यवस्थापन गर्न सके अन्नबाली, तरकारी लगायत माछापालन गर्न उपयुक्त हुने समेत उनले जानकारी दिए । तालको कुल क्षेत्रफल १ सय बिगहा भएपनि करिब २५ बिगहा क्षेत्रफल नेपाल सरकारको जग्गा रहेको बताए । बाँकी अरू जग्गा स्थानीयहरूले कब्जा गरी भोगचलन गर्दै आएको बताउँदै साढे ३ दशकदेखि ठेक्कामा रहेको उनी बताउँछन् । उनका अनसार ठेकदार पक्षले माछा पालन गर्दै आएको र आफू खुसी पानी खोल्ने, बन्द गर्ने गर्दा किसान मारमा पर्दै आएका छन् ।