© २०२३
“कृषि पढ्ने जति प्रयोगशालामा जाने रे !” चक्रपाणिले पहिले आफुले झोला बोकेर बाहिर दगुर्दै भन्यो । हामीहरु आ–आफ्नो झोला टिपेर भूकम्प आउँदा भागे झैँ आँधिबेगमा प्रयोगशालातर्फ दगु- यौ ।
प्रयोगशाला….
शान्ति स्कूलको मुख्य भवन र पश्चिम तर्फको जगदीश गुरुको पुरानो क्वाटर बिचका सानोसानो हल भन्न सुहाउने एउटा भवन थियो । त्यस हलको ढोकामा टिनको प्लेटमा प्रयोगशाला लेखिएको थियो । त्यो प्रयोगशालाको भित्र एउटा सानो कोठा थियो ( लामो समय सम्म त्यो कोठामा के राखिएको थियो भन्न थाहा पाइएन) ।
पहिलोपल्ट प्रयोगशाला पस्न पाउँदा सबै जना खुशी थियौ । प्रयोगशाला भनिएको कोठामा ठुलाठुला टेबल, टेबलको वरिपरी विद्यार्थी बस्नको लागि कुर्सीहरू थिए । भित्तामा विज्ञानका विभिन्न चार्टहरु झुन्ड्याइएको थियो । छेवैको दराजमा विज्ञानका किताबमा देखेका थुप्रै वस्तुहरु थिए, अनि एउटा कुनामा काँडाकाँडा भएको खुट्टाले घुमाउने मेशिन थियो (जुन धान झार्ने थ्रेसर रहेछ) ।
यदुनन्दन सर कक्षामा पस्ने बेलासम्ममा प्रयोगशाला कुनाकाप्चा चाहरियो, घुम्ने मेशिन घुमाइयो, सानो कोठाको ढोकाको चेपबाट भित्र चिहाइयो ।
यदुनन्दन सर आएर कृषि शिक्षा पढाउन सुरु गर्नु भयो, हामी विद्यार्थीहरु मन्त्रमुग्ध भएर उहाँको प्रवचन सुन्यौ, शान्तिमा पढेर कृषिमा सफलता पाएका विद्यार्थीहरुका कथा सुन्यौ । बाहिर निस्कदा मैले आफु जेटिए बनेको सपना देखिसकेको थिएँ । यदुनन्दन सरको पढाउने तरिका जीवन्त थियो । (विद्यार्थीलाई विषयवस्तुमा चुर्लुम्म डुबाउन सक्ने सरको रिस पनि कम्ती त थिएन है ।) ३ वर्ष प्रयोगशालामा कुनै प्रयोगात्मक कार्य त गर्न पाइएन तर त्यो कोठामा यदुनन्दन सरले पढाएको कृषि शिक्षा भने जीवनभरी काम लागिरहेको छ ।
त्यतिबेला ऐच्छिक गणित र विज्ञान पढ्नुलाई अप्सनल पढ्ने भन्ने चलन थियो । उमा दिदी ( विज्ञान शिक्षिका) ले दोश्रो तलाको दक्षिण तर्फको कोठामा विज्ञान प्रयोगशाला बनाउनु भएको थियो । उहाँको प्रयोगशालामा पढ्ने रहरले सकीनसकी म पनि अप्सनल पढ्ने समूहमा मिसिए । हाम्रो ब्याचमा २४ जनाले अप्सनल पढ्न पाउने भयौ, त्यो पनि उमा दिदीको विज्ञान प्रयोगशालामा बसेर । हेमा पुन बाहेक अरु सबै केटाहरु । हेमा भाग्यमानी थिइन्, उनी पहिलो टेबलमा एक्लै राज गर्न पाउँथिन् भने केटाहरुले २÷२ जनाले एउटा टेबल पाएका थियौ । टेस्टट्युब, बिकर, ग्याँस जार, फ्लास्क, कम्पास, सेल, चुम्बक, थर्मोमिटर जस्ता विज्ञानका सामग्रीहरुसंग त्यही परिचित हुन् पायौ । उमा दिदीले निकै प्रयोगात्मक र रोचक ढंगले विज्ञान पढाउँदा पछि क्याम्पसमा साईन्स पढेर ठुलो मान्छे बन्ने सपना बुनियो । उमा दिदीसंग अप्सनल साईन्स पढ्नुको अर्को फाइदा पनि भयो । त्यो बेलामा मणिग्राममा झ्यालमा झुन्डिएर समेत टिभी हेर्न नपाइने बेलामा हामी साईन्स पढ्ने विद्यार्थीहरु भने उहाँको बैठक कोठामै बसेर रंगिन टिभीमा महाभारत हेर्न समेत पाइन्थ्यो ।
जगदीश गुरुले एउटा सेक्सनमा मात्र पढाउनु हुन्थ्यो । हाम्रो भाग्य भन्नु पर्छ हामी कक्षा १० सेक्सन ए का विद्यार्थीहरु जगदीश गुरुसँग पढ्न पाउने भयौ । गुरुसँग पढ्दा बल्ल थाहा भो– हामीले त अंग्रेजी विषयमा केही सिकेकै रहेनछौ । तल्लो कक्षामा हेमराज सर, होमनाथ सर, छबिलाल सर, सुनकुमारी दिदीसंग अंग्रेजी पढेको भएपनि सिक्न भन्दा पनि घोकेर अंग्रेजीमा येनकेन पास हुने ध्याउन्नले अंग्रेजी विषय हाउगुजी बनिरहेको थियो । जगदीश गुरुले कक्षाका भएका विद्यार्थीसंग आलोपालो संगै बसेर ईङलिश ग्रामर, एस्से, कम्पोजिसन जस्ता कुराहरु छोटो समयमै पास हुन पुग्ने गरी सिकाउनु भयो । उहाँको संगतले गर्दा एसएलसीमा धेरै विद्यार्थी फेल हुने ईङलिश पनि पास गरियो र त्यही जगमा अहिले पनि कनिकुथी अंग्रेजीको काम चलाइरहेको छु ।
मेरो लागि शान्ति स्कुल सिकाईको विशाल प्रयोगशाला बन्यो । अर्जुन उपाध्याय सरले मेजरिंग सिलिन्डर देखाएको भरमा घरमा औषधीका बोतलहरु काटियो, मिना दिदीले पुर्वब्यावसायिक पढाउँदा थुप्रै माटोका मूर्तिहरु बनाइयो, गोपी दिदीले इतिहास पढाउँदा राणा शासनको बारेमा बुझ्न बुढापाका मान्छेहरु खोज्दै हिडियो, अर्जुन ज्ञवाली सरले नेपाली पढाउँदाको स्वादमा कविता, निवन्ध र दैनिकी लेख्न थालियो । दिलिप सर, लोकनाथ सर र केशव सरले ज्यामिती पढाउँदा रुखको उचाई र कुलोको चौडाई नाप्दै हिडियो । प्रयोगशालारुपी शान्ति स्कूलमा सिक्न नपाएको भए, भोग्न र देख्न नपाएको भए मैले अहिले लेखन, पत्रकारिता, वकालत र प्राध्यापन गर्न कदापि सक्ने थिइन ।
शान्ति स्कूल छोडेको ३२ वर्ष वितिसकेको छ । मेरा संस्कृतका गुरु अग्निराज उपाध्याय, गणितका गुरु दिलिपसिंह थापा, अंग्रेजी गुरु जगदीश उपाध्याय, नेपालीकी गुरुमा गायत्री भट्टराई, मलाई माया गर्ने गुरुमा शान्ति पाण्डे स्वर्गवासी भइसक्नु भएको छ । प्रयोगशालामा कृषि पढाउने यदुनन्दन गौतम, अप्सनल पढाउने लोकनाथ सर र पुर्व ब्यवसायिककी मिना दिदी, अंग्रेजीका हेमराज सर नेपालमै भएपनि भेट नभएको बर्षौ भैसक्यो । केशव न्यौपाने सर, छविलाल शर्मा सर, केपी सर, अर्जुनराज उपाध्याय सर, अर्जुन ज्ञवाली सर, होमनाथ सर, लक्ष्मी बश्याल दिदी, सुनकुमारी दिदी, राधिका गैरे दिदी, दक्षिणा भट्टराई दिदीसंग बारम्बार भेट हुन्छ ।
स्कुलका गुरु बाबुराम ज्ञवाली प्रा.डा. हुनुभएको छ र अहिले मेरो पिएचडीका शोध निर्देशक हुनुहुन्छ । दिपेन्द्र अधिकारी, जलेश्वर उपाध्याय, पङ्कज कुमार गौतम, तनुजा भट्टराई, कृष्ण गौतम, कपिलमणि पाठक, पशुपति पाण्डे, मुरारी शर्मा, शंकर पराजुली, बाबुराम खरेल, गिरिधारी रिजाल, चक्रपाणि पाठक, देवेन्द्र बश्याल, ध्रुब बश्याल लगायतका साथीहरुसङ्ग यदाकदा भेट हुन्छ । स्कुले साथीहरु हेमा पुन, खगेन्द्र ढकाल, विनोद कुमार पाठक, सुर्यप्रसाद अर्याल, रुद्र प्रसाद पाण्डे, सागर पौडेल, हुमराज पौडेल, रन बहादुर थापा, अञ्जन धिताल, निरञ्जन पौडेल, राम प्रसाद भट्टराई, भवानी खाँड, प्रमोद, नेत्रलाल पाण्डेसङ्ग स्कुल छोडेपछि आजसम्म भेट भएको छैन । हिजो (पुस ५) मा स्कूले साथी उमानाथ पौडेलले मेरो मोबाईल नम्बर पत्ता लगाएर फोन गरेको थियो, कम्ति खुशी त लागेन । केटीहरु मध्येमा तनुजासङ्ग भेटघाट भैरहन्छ, अरु २ जना केटीको नाम याद छ । अरु केटीको नाम र अनुहार यादसम्म पनि छैन । स्कुलसङ्गका धेरै सामिप्यताहरु धमिला भैसकेका छन् तैपनि शान्ति स्कुलको सिकाइ अझै ताजै छ र त्यसैले जिन्दगीलाई डो¥याइरहेको छ ।
…कहिलेकाही सोच्छु – शान्ति स्कुलको प्रयोगशालातर्फ दौड्न नपाएको भए जीवन कति कठिन हुन्थ्यो होला ? जीवन कति निरस हुन्थ्यो होला ?