© २०२३
प्यूठान, २४ मङ्सिर ।
प्यूठानमा किवि खेतीमा किसानको आकर्षण बढ्दो छ । प्यूठानको गौमुखी गाउँपालिकाको रजवारा, पुजा, मल्लरानी गाउँपालिकाका मा किसान व्यवसायिक किवि खेतीमा आकर्षण भएका हुन् । किवि खेतीमा आकर्षण बढ्दै गएपनि बिक्री गर्न भने समस्या भएको किसानहरूले बताउछन् ।
सात वर्ष अघि किर्तिपुरबाट विरुवा लिइ खेति शुरु गरेका गौमुखी गाउँपालिका–३ रजबाराका नरेन्द्र मल्लले किविका बोटले राम्रो उत्पादन दिएको बताए । ‘बोटका फलहरू हेर्दा रहर लाग्दो छ, तर विक्री गर्ने ठाउँको कमी छ’ मल्लले भने । मल्लको १३ रोपनी क्षेत्रफल भएको बारीमा पाँच सय विरुवा किविका वोटहरूबाट यस वर्ष ३० क्विन्टल किवि उत्पादन भएको उनको अनुमान छ । हालसम्म दुई क्विन्टल बिक्री गरेको उनले जानकारी दिए । उत्पादन भएको किवीलाई प्याकेजिङ गरेर जिल्लाका बजारमा पू¥याइएको छ । ग्रेडिङ गरिएको किवी प्रति केजी दुई सयदेखि चार सय रुपियाँसम्ममा बिक्री हुने गरेको छ ।
काठमाडौँमा पुगेको समयमा किवी महंगोमा विक्री हुने फल भएको थाहा पाएपछि किवि खेती गरेका मल्लले वजारीकरणमा समस्या भएको दुःखेसो व्यक्त गरे । प्यूठानको मुख्य व्यापारिक केन्द्र बाग्दुला ३५ किमि कच्ची सडक भएकोले आफैँ गाडीमा हिँडेर बिक्री गर्न जाँदा ढुवानी खर्च बढी लाग्ने लाग्दछ । सोही कारण पनि वजारीकरणमा समस्या भएको उनले बताए ।
पछिल्लो समय किवि खेतीमा किसानहरू आकर्षित हुँदै गएका छन् । गौमुखी गाउँपालिका–३ का गोेवर्धन थापाले पनि ३ सय ५० के.जि. किवि फलेको बताए । फलेका कि.वि. ७५ के.जि. बुटवल र ५० के.जि. काठमाडौं पठाएका उनी पनि बाँकी कि.वि.को वजारको खोजीमा रहेकाछन् । ८ रोपनीमा १५० बोट किवि मध्ये ९० को बोटबाट फल दिएको हो । चार वर्ष देखि किवि खेति बढाउँदै गएका थापाले केही मात्रामा फोनको भरमा प्यूठानका वजारमा पठाइएपनि परिणाममा विक्री गर्न समस्या भएको बताए ।
एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका अनुसार जिल्लाका केही किसानहरूले व्यवसायिक किवि खेती गर्न थालेका छन् । कार्यालयका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले गौमुखीको रजवारा, मल्लरानीको चुँजामा यसको सुरुवात भएको भएपनि कति मात्रामा भयो भन्ने तथ्यांक कार्यालयसँग नभएको बताए ।