© २०२३
प्युठान, २८ साउन ।
प्यूठानमा अनधिकृत रुपमा सञ्चालन गरिएको स्वास्थ्य क्लिनिक शील गरिएको छ । सोमबार सरुमारानी गाउँपालिका क्षेत्रमा भएको बजार अनुगमनका क्रममा भेटिएको अनधिकृत क्लिनिक शील गरिएको हो ।
सरुमारानी गाउँपालिका–४ बड्डाँडामा दर्ता बिना सञ्चालनमा ल्याइएको शोभा स्वास्थ्य क्लिनिकमा शील गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिइन् । फार्मेशीको लागि इजाजत लिइएको शोभा फार्मेशीसंगै एक वर्ष देखि शोभा स्वास्थ्य क्लिनिक सञ्चालन गरेका थिए । ‘फार्मेशी वैधानिक भएपनि मेडिकल, ल्याव, इमरजेन्सी, एक्सरे सेवा अवैध देखियो’ शर्माले भनिन्,‘ दर्ता पश्चात सञ्चालन गर्न दिने गरी शील गरेका छौं ।’ फार्मेशीले बिरामी जाँच सेवाका लागि भन्दै अवैध रुपमा प्रचार गरेको समेत पाइएको शर्माको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास कार्यालय र सरुमारानी गाउँपालिकाको संयुक्त अनुगमनबाट बड्डाडा बजार क्षेत्रमा अनुगमन गर्दा म्याद गुज्रेका सामग्रीहरु विक्रीका लागि राखिएको पाइएको छ । चाउचाउ, कुरकुरे, बिस्कुट, खानतेले, सस, भेनेगर, वियर लगायतका रु २८ हजार बराबरका सामग्री नष्ट गरिएको समेत सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् ।