© 2026
काठमान्डौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एक–दुई जना न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार नआउने बताएका छन् ।
आइतबार उनले न्यायालयमा व्यापक सुधार र संरचनागत परिवर्तन आवश्यक रहेको धारणा राखे । उनका अनुसार न्यायालयको पुनर्नियुक्ति र पुनर्गठनजस्ता विषयमा समेत अघि बढ्नुपर्ने आवश्यकता छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायाधीश हटाउन संसदीय प्रक्रिया अघि बढाउने निर्णय गरेको विषयमा प्रतिक्रिया दिँदै लिङ्देनले महाभियोगको विषयवस्तु र अभियोग हेरेर मात्रै पार्टीले आफ्नो धारणा बनाउने बताए ।
‘महाभियोग भनेको व्यक्तिमाथि आउने कुरा हो । त्यतिले नै न्यायालयमा सुधार र परिवर्तन हुने भन्ने होइन,’ उनले भने, ‘के विषय र के अभियोग लगाएर आउने हो, कोमाथि आउने हो, त्यो हेरेर छलफल गरेर हामी आफ्नो धारणा बनाउँछौँ ।’
उनले न्यायालयको वर्तमान कार्यशैलीबाट समस्याको निकास सम्भव नरहेको उल्लेख गर्दै समग्र न्यायिक प्रणालीमै सुधार र परिवर्तन आवश्यक रहेको बताए ।
‘न्यायालयमा सुधार र परिवर्तन जरुरी छ । अहिलेको न्यायालय जसरी चलिरहेको छ, यसबाट निकास निस्किँदैन,’ उनले भने ।