Butwal Today

अर्नब चक्रवातको प्रभाव हट्यो, मौसममा क्रमिक सुधार

१५ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

काठमान्डौँ ।

अर्नब चक्रवातको प्रभाव कमजोर भएसँगै नेपालमा मौसम क्रमिक रूपमा सुधार हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दिनमा देशभरको मौसम थप सफा र घमाइलो हुँदै जानेछ ।

मौसमविद् सञ्जीव अधिकारीले आइतबारदेखि मौसममा उल्लेखनीय सुधार आएको जानकारी दिए । पछिल्लो २४ घण्टाको मौसम अवस्थाअनुसार मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेतका एक–दुई स्थानमा छिटपुट वर्षा भए पनि अन्य क्षेत्रमा उल्लेख्य वर्षा भएको छैन ।

आइतबार बिहान तराईका भूभाग तथा काठमाडौं र पोखरालगायत उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेको थियो । तर, घाम लागेसँगै हुस्सु र कुहिरो क्रमशः हट्दै गएको छ । लुम्बिनी प्रदेशको तराई क्षेत्रमा देखिएको हुस्सु पनि छिट्टै हट्ने महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि समग्रमा मौसम सफा रहनेछ । हिमाली र पहाडी क्षेत्रका करिब १० प्रतिशत अर्थात् निकै कम स्थानमा मात्र हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले बताए । रातिको समयमा पूर्वी भूभागको मौसम थप सफा हुँदै जानेछ भने पश्चिमी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।

सोमबार पनि देशभरको मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ । बिहान तराई, उपत्यका र खोँचहरूमा हुस्सु लागे पनि आइतबारको तुलनामा कम हुने र छिट्टै हट्ने महाशाखाको अनुमान छ । दिउँसो हिमाली, पहाडी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहे पनि साँझदेखि मौसम थप सुधार हुँदै घमाइलो बन्नेछ ।

चक्रवातको प्रभाव हटेसँगै मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनका लागि ‘हरियो’ तहको चेतावनी जारी गरेको छ । यसले मौसमका कारण हुन सक्ने प्रतिकूल प्रभावको जोखिम न्यून रहेको संकेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?