© 2026
गुल्मी । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरले विपद्को समयमा पीडितले पाउने राहत तत्काल र प्रभावकारी हुनुपर्ने बताएका छन् । ढिलो गरी दिइने राहतको कुनै औचित्य नहुने उल्लेख गर्दै उनले बोलेर मात्र नभई परिणाम देखिने गरी द्रुत गतिमा जनताका काम गर्नुपर्नेमा जोड दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीको संयोजन तथा लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको आयोजनामा सनिबार सदरमुकाम तम्घासमा आयोजित ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सरोकारवालाहरूसँगको अन्तरक्रिया तथा सिकाइ आदान–प्रदान कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री अहिरले सो कुरा बताएका हुन् ।
मन्त्री अहिरले विगतका कमीकमजोरीका कारण जनतामा निराशा बढेको र युवा वर्ग पलायन हुने स्थिति सिर्जना भएकाले त्यसलाई रोक्न सरकार गम्भीर हुनुपर्ने बताए । “प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री खरिद गर्ने निर्णय गरिसकेको छ, त्यसका लागि कुन–कुन सामग्री आवश्यक पर्छ, स्थानीय तहहरूले पनि सुझाव र सल्लाह दिनुहोला,” मन्त्री अहिरले भने ।
कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले विपद् व्यवस्थापनमा व्यावहारिक नीति र बजेटको माग गरेका थिए । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बैठकका लागि मात्र बैठक बस्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउँदै विपद् व्यवस्थापनका लागि प्रदेशले बजेट थप गर्नुपर्ने र पहाडी क्षेत्रमा व्यावहारिक नभएका सडक मापदण्ड सच्याउन पर्ने बताए ।
कार्यक्रममा पालिका अध्यक्षहरूले विगतमा लम्पी स्किन रोगका कारण मरेका पशुचौपायाको राहत किसानले अझै नपाएको, भूकम्पपछि निर्माण भएका घरहरूको भुक्तानी अझै रोकिएको, र मुख्य सडकहरू बारम्बार अवरुद्ध हुँदा पालिकाहरूसँग बजेटको अभावमा तत्काल पन्छाउन कठिन परेको लगायतका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
उक्त अवसरमा लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेले ‘विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना’, ‘प्रदेश विपद् प्रतिकार्य कार्यढाँचा’, कानुनी प्रावधान र गुल्मी जिल्लामा विगत १० वर्षमा भएका विपद्का घटना तथा क्षतिको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले गुल्मी जिल्लाको विपद्को वर्तमान अवस्था, हालसम्म भएका काम, जोखिमयुक्त स्थानहरू र विद्यमान चुनौतीहरूका बारमो प्रस्तुतीकरण गरेकी थिईन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा गुल्मीबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरू डिल्लीराज भुसाल र दिनेश पन्थी, प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटा, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, मुख्य राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अन्तरक्रियामा सहभागीहरूले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आ–आफ्ना अनुभवहरू साट्दै विभिन्न व्यावहारिक सुझावहरू समेत दिएका थिए ।