© 2026
काठमाडौँ । भारतले नेपालका थप दुई जलविद्युत् आयोजनाको बिजुली आफ्नो प्रतिस्पर्धी बजारमा बिक्री गर्न अनुमति दिएको छ । भारतले १४ मेगावाटको घारखोला र १८ मेगावाटको मध्य मोदी जलविद्युत् आयोजनाको गरी ३२ मेगावाट बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे–अहेड मार्केट (डीएएम) र रियल टाइम मार्केट (आरटीएम) मा बिक्री गर्न स्वीकृति दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार दुवै आयोजनाको बिजुली सन् २०२७ अगस्ट ३१ सम्म भारतमा बिक्री गर्न सकिने छ । भारतको पछिल्लो स्वीकृतिसँगै नेपालको विद्युत् निर्यातका लागि थप बजार सुनिश्चित भएको छ ।
यसअघि भारत र बंगलादेशमा निर्यात हुँदै आएका केही आयोजनाको विद्युत् उत्पादनमा भोटेकोशी बाढीका कारण क्षति पुगेपछि निर्यात व्यवस्थापनमा समस्या आएको थियो । गत भदौ १० गतेको बाढीले त्रिशूली जलविद्युत् आयोजनाको १८.६ मेगावाट, चिलिमेको २१.४ मेगावाट र देवीघाटको १४.६ मेगावाट विद्युत् निर्यात प्रभावित भएको थियो ।
बाढीबाट प्रभावित त्रिशूली र चिलिमेको विकल्पमा भारतले यसअघि नै काबेली बी–१ र सोलुखोला जलविद्युत् आयोजनाको बिजुली बंगलादेश निर्यात गर्न अनुमति दिएको थियो ।
त्यस्तै, देवीघाटको विकल्पमा तल्लो मोदी जलविद्युत् आयोजनाको बिजुली द्विपक्षीय बजारमा बिक्री गर्न स्वीकृति दिएको थियो ।