Butwal Today

भोटेकोशीका मृतकको स्मृतिमा देशव्यापी यात्रा

१५ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

बुटवल । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सुरु गरिएको मेची–महाकाली साइकल यात्रा लुम्बिनी प्रदेश आइपुगेको छ । प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पर्यावरण संरक्षण, स्वास्थ्य सचेतना र आन्तरिक पर्यटन प्रवद्र्धनको सन्देश फैलाउने उद्देश्यले साइकलिस्ट रवीन्द्र महर्जनले उक्त यात्रा सुरु गरेका हुन् ।

२०८३ भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा अप्रत्याशित रूपमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा महर्जनले देशको पूर्वदेखि पश्चिमसम्म साइकल यात्रा थालेका हुन् । विपत्तिमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनालाई सामाजिक अभियानसँग जोड्दै उनी साइकलमार्फत देशका विभिन्न भूभागको यात्रा गरिरहेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–६, सिद्धिपुर निवासी महर्जनले साइकल यात्रालाई श्रद्धाञ्जली व्यक्त गर्ने माध्यमका रूपमा मात्र नभई देशका प्रमुख पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने अवसरका रूपमा पनि लिएका छन् ।

यात्राका क्रममा देशका विभिन्न स्थान र पर्यटकीय स्थलको पहिचान तथा प्रचारप्रसार हुने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको विश्वास छ । साइकल यात्री महर्जनलाई स्वागत गर्दै साइकलिस्ट एवं पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका पूर्वनगरप्रमुख धीरज शर्मा बस्यालले प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको स्मृतिमा शोकलाई शक्तिमा बदल्दै देशव्यापी यात्रामा निस्कनु प्रशंसनीय कार्य भएको बताए ।

उनले विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनालाई सामाजिक चेतना र सकारात्मक अभियानसँग जोड्नुले यात्राको महत्त्व अझ बढाएको उल्लेख गरे । यस्ता अभियानले व्यक्तिगत प्रयासलाई सामाजिक सन्देशसँग जोड्दै समाजमा सकारात्मक प्रभाव पार्न सक्ने उनको भनाइ थियो । शनिबार लुम्बिनी प्रदेशको कपिलवस्तु पुगेका साइकल यात्री महर्जनले यात्राले पर्यावरण संरक्षण, स्वास्थ्य सचेतना र सामाजिक रूपान्तरणमा सकारात्मक योगदान पु¥याउने बताए । साइकल यात्रामार्फत वातावरणमैत्री यातायातको महत्त्व बुझाउन र शारीरिक स्वास्थ्यप्रति नागरिकलाई सचेत गराउन सकिने उनको विश्वास छ ।

महर्जनले २०८३ कात्तिक ९ गते झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित मेची पुलबाट साइकल यात्रा सुरु गरेका हुन् । पूर्वी नेपालको मेची पुलबाट सुरु भएको यात्रा देशका विभिन्न स्थान हुँदै लुम्बिनी प्रदेशसम्म आइपुगेको छ । उनले आगामी कात्तिक १७ गते महाकाली पुगेर यात्रा समापन गर्ने लक्ष्य राखेका छन् ।
मेचीदेखि महाकालीसम्मको यो यात्राले प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको स्मृतिलाई जीवन्त राख्नुका साथै साइकल प्रयोग, स्वास्थ्य सचेतना, पर्यावरण संरक्षण र आन्तरिक पर्यटन प्रवद्र्धनको सन्देश फैलाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?