© 2026
काठमान्डौँ ।
विपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका पछिल्ला गतिविधिमाथि प्रश्न उठाउँदै केही सीमित व्यक्तिले आफूलाई नै राज्य ठान्न थालेको आरोप लगाएका छन् ।
सरकारमा रहेका व्यक्तिहरूले आफ्नो इच्छालाई नै कानुन ठान्ने प्रवृत्ति देखाएको भन्दै उनले राज्यशक्तिको स्वेच्छाचारी प्रयोगप्रति चिन्ता व्यक्त गरेका हुन् ।
आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा थापाले सरकारका पछिल्ला गतिविधिबारे आफ्नो धारणा राखेका हुन् ।
पत्रकारमाथि भएको धरपकड, प्रहरीको वक्तव्य, त्यसअघि भएका पक्राउ तथा घटनाक्रमबारे बोल्दै उनले केही व्यक्ति पक्राउ परेर छुट्दैमा यो विषय समाप्त नहुने बताए ।
‘केही साथी पक्राउ परे र छुटे, तर यो कुरा सकिँदैन । सकिएको छैन,’ उनले भने, ‘यसले उठाएको प्रश्न भनेको सरकारले आफ्नो अधिकारलाई कसरी बुझेको छ र अभिव्यक्ति स्वतन्त्रतालाई कसरी बुझेको छ भन्ने हो ।’
उनले प्रहरीका पछिल्ला गतिविधिले सरकारको अधिकार प्रयोग गर्ने शैलीमाथि गम्भीर प्रश्न उठाएको बताए ।
‘प्रहरी तालुकवालासँग आदेश भएकाले नै मिडियामा गएका हुन्,’ उनले भने, ‘केही ठाउँमा साथीहरूले पत्रपत्रिकाका समाचार हेरे, अनि उठाइदे भनियो होला ।’
घटनाको विरोध हुन थालेपछि विषयान्तर गर्न अर्को विषय ल्याइएको हुन सक्ने आशंकासमेत उनले व्यक्त गरे ।
थापाले पछिल्लो घटनाक्रममा देखिएको प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै केही सीमित व्यक्तिले राज्यको अधिकार आफूमा केन्द्रित गर्न खोजेको आरोप लगाए ।
‘केही सानो समूहले ‘वी आर द स्टेट’ भन्न थाले । शक्तिको स्वेच्छाचारी प्रयोग भयो । सरकारमा बसेका मान्छेहरूलाई आफ्नो इच्छा नै कानुन हो भन्न थालियो । यो प्रवृत्ति जस्तो देखियो । यसले हद नाघेको छ,’ उनले भने ।
यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले गल्ती भएको भन्दै वक्तव्य जारी गरे पनि त्यसले मात्र नपुग्ने थापाको भनाइ छ । उनले यस्ता घटनामा सरकारको जवाफदेहिता र कारबाहीको परिणाम देखिनुपर्ने बताए ।
उनले विगतको एउटा घटनाको स्मरण गर्दै २०८३ साल असार २९ गते सञ्चारमाध्यमको गेटमा गाडी पार्क गरिएको विषयमा पनि रास्वपाले वक्तव्य जारी गरेको उल्लेख गरे ।
‘सरकारले एउटा काम गर्न रास्वपाले एउटा वक्तव्य दियो, सकियो । त्यो बेला निर्देशन दिएको थियो । त्यसमा कुनै कारबाही भयो रु’ उनले प्रश्न गरे ।
रास्वपाको वक्तव्यभन्दा त्यसको कार्यान्वयन र परिणाम आफूहरूका लागि महत्त्वपूर्ण रहेको थापाले स्पष्ट पारे ।
‘हामीलाई रास्वपाको वक्तव्य होइन, परिणाम चाहियो,’ उनले भने ।
सरकारका गलत गतिविधिबारे विगतमा संसद्मा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले यस विषयलाई पनि रास्वपाले संसदीय दलमार्फत प्रधानमन्त्रीसमक्ष पुर्याउनुपर्ने बताए ।
‘हामी त संसदीय दलमा प्रधानमन्त्री बोलाएर रास्वपाले भनोस् न,’ उनले भने ।