© 2026
बाणगगा ।
बाणगंगा नगरपालिकाकी नगर उपप्रमुख रीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न हुने प्राकृतिक विपद्बाट अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिकाको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताएकी छन्।
आइतबार बाणगंगा–४ मा आयोजित ‘अपाङ्गता भएका व्यक्तिहरूमा जलवायु परिवर्तनले पारेको असर र प्रभावसम्बन्धी अधिकारवालाहरूसँगको संवाद कार्यक्रम’मा बोल्दै उनले अचानक हुने वर्षा र बाढीबाट सुरक्षित रहने उपायलाई प्राथमिकता दिनुपर्ने बताइन्। बाणगंगाका वडा नम्बर ४, ५, ६, ७ र ८ बाढीको जोखिममा रहेकाले ती क्षेत्रका नागरिक थप सचेत हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा संस्थाकी अध्यक्ष बसन्ती थारुले जलवायु परिवर्तनले विशेषगरी अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक बढी प्रभावित हुने बताइन्। अचानक बाढी आउँदा उनीहरू सुरक्षित स्थानमा पुग्न कठिन हुने भएकाले विपद् व्यवस्थापनमा उनीहरूको आवश्यकतालाई प्राथमिकता दिनुपर्ने उनले बताइन्। वनजङ्गल विनाश र प्राकृतिक स्रोतसाधनको दोहन रोक्दै जलवायु परिवर्तन न्यूनीकरणमा सबै पक्ष लाग्नुपर्ने उनको जोड थियो।
सिद्धार्थ सामाजिक केन्द्रका बिलिफ कार्यक्रम संयोजक आर्के खानले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरणका योजना बनाउँदा अपाङ्गता भएका व्यक्तिको सुरक्षा र आवश्यकतालाई समेट्नुपर्ने बताए।
कार्यक्रममा अपाङ्ग उत्थान समाज कपिलवस्तुका उपाध्यक्ष नन्दकिशोर यादव, जागृति अपाङ्ग उत्थान समाजका अध्यक्ष शंकरप्रसाद थारु, थाकस बाणगंगाका सहसचिव अरुण थारुलगायतले शुभकामना मन्तव्य राखेका थिए।
स्वावलम्बी अपाङ्गता महिला संस्था कपिलवस्तुको आयोजना, NIDWAN को सहआयोजना तथा ClimateWorks Foundation को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। संस्थाकी कोषाध्यक्ष लक्ष्मी थारुले सञ्चालन गरेको कार्यक्रममा आसारानी थारुले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रममा बाणगगा क्षेत्रका अपाङ्गता भएका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।