© २०२३
चन्द्रौटा (कपिलवस्तु), २६ साउन ।
कपिलवस्तुमा एक साझेदारी वनका कर्मचारी महिनौंदेखि तलब नपाउँदा आन्दोलित भएका छन् । कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति अन्तर्गत कार्यरत कर्मचारी १४ महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रिएका हुन् । तलब स्वरूप ३८ लाख ७१ हजार पाउनुपर्ने कर्मचारीहरू बताउँछन् । तलब नदिएर पेट्रोल, पानी लगायत अन्य शीर्षकमा खर्च गरेको उनीहरूको आरोप छ ।
साझेदारी वनका बैंक खातामा लाखौँ रूपैया रहेपनि कर्मचारीलाई हाकिमहरूले मर्कामा पारेको विष्णु खनालले बताए । “हाम्रो पाउनुपर्ने तलब तत्काल उपलब्ध गराउन माग गर्दछौं । नत्र थप आन्दोलन गर्छौं ।” खरिदार घनप्रताप यावदले भने । यस्तै तलब नपाएपछि परिवार पाल्न कठिन भएको वन हेरालु जाहिर जोलहाले बताए । कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति र सब–डिभिजन वन कार्यालय खरेन्द्रपुरका वन अधिकृत संजय कुमार मिश्रले तलब नदिएको जोलाहाले आरोप लगाए ।
यस्तै अधिकृत मिश्रले अर्को महिना तलब पाइने भन्दै बारम्बार ढाटेको वन हेरालु लक्ष्मी थारुले बताइन् । तलबको लागि पटक–पटक माग गर्दा कुनै सुनुवाई नभएपछि कर्मचारीहरूले बाध्य भएर कपिलवस्तु साझेदारी वनको कार्यालयमा ताला लगाएको खरिदार अर्जुन यादवले बताए । गत १८ गतेबाट कार्यालयका कर्मचारी आन्दोलन गरेको यादवले जानकारी दिए ।
यता कपिलवस्तु साझेदारी वन व्यवस्थापनका समितिका अध्यक्ष गंगेशनाथ तिवारीले कार्ययोजना निर्माण गरी वन निर्देशनालयको कार्यालयमा पठाएको बताए । कर्मचारीले तबल नपाएको स्वीकार गर्दै उनीहरूले समयमै पाउनुपर्ने बताए । केहि रकमको तलबको चेक बैंकमा सात्न पठाएपनि त्रुटिका कारण भुक्तानी नभएको उनको भनाई छ । समस्यातर्फ जान कर्मचारीलाई आग्रह गर्दै यथासिघ्र समाधान गर्ने अध्यक्ष तिवारीले जनाए । वन निर्देशनालयले कार्ययोजना स्वीकृत नगर्दा अनुदानको रकम आउन ढिलाई भएको बताउँदै कोषमा पैसा नभएकाले तत्काल दिन नसकिने वन अधिकृत संजयकुमार मिश्रले बताए ।