© २०२३
कपिलवस्तु, २१ साउन ।
कपिलवस्तु नगर चेम्बर अफ कमर्श तौलिहवाले यातायात व्यवस्था सेवा कार्यालय कपिलवस्तुबाट (सवारी चालक अनुमतीपत्र) लाईसेन्सका सेवाहरु बिस्तार गर्नु पर्ने माग सहित प्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।
नगर चेम्बर अफ कमर्श तौलिहवाका अध्यक्ष गोपीकृष्ण शर्मा नेतृत्वको टोलीले लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड बिक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाएको हो । टोलीमा शर्मा सगैं व्यवसायी सुदिप रायमाझी र समाजसेवी मधुसुदन भट्टराई सहभागी थिए ।
बुझाईएको ज्ञापनपत्रमा कपिलवस्तुको तौलिहवामा मिति २०७८ साल फागुन ४ गते यातायात व्यवस्था सेवा कार्यालय स्थापना भई सञ्चालनमा रहेको तर हाल सम्म सवारी चालक अनुमति पत्र (लाईसेन्स) का सेवाहरु सुचारु हुन नसकेको उल्लेख छ ।
सो कार्यालयबाट हाल बिल बुक नविकरण, भाडाका सवारी साधनको जाँच पास र रुटपर्मिटको सेवा मात्रै सञ्चालनमा रहेको र कपिलवस्तु बाहेकका सेवा कार्यालयमा लाईसेन्सको सेवा सञ्चालनमा आई सकेको बिषय ज्ञापनपत्रमा छ ।
तौलिहवा स्थित यातायात व्यवस्था सेवा कार्यालयमा लाईसेन्स सम्बन्धी सबै सेवा सञ्चालनमा नआउँदा आम नागरिकले सो सेवा लिनका लागि भैरहवा र बुटवल जानु पर्ने बाध्यता रहेको जनाउदै कपिलवस्तुमा लाईसन्सको सेवा शुरु गरि दिनका लागि आवश्यक प्रक्रिया अगाडी बढाई दिन ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
कपिलवस्तु सँगै सेवा कार्यालय सञ्चालन भएका जिल्लामा लाईसेन्सको सेवा शुरु भैसके पनि तौलिहवामा सो सेवा शुरु नभएकाले नागरिकको मागलाई मध्यनजर गरी ज्ञापन पत्र दिएको अध्यक्ष शर्माले बताए । मागको सुनुवाईका लागि आफु सकारात्मक रहेको र सो सेवा सञ्चालनका लागी आवश्यक पहल गर्ने लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड बिक्रम न्यौपानेले प्रतिबद्धता जनाए ।