© 2026
दाङ ।
चाडपर्वको समयमा हुन सक्ने गतिविधि नियन्त्रण गरी शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा दशैँ, तिहार तथा छठ पर्व मनाउन जिल्ला प्रशासन कार्यालय दाङले जिल्लावासीलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय दाङले बिहीबार सार्वजनिक सूचना जारी गर्दै चाडपर्वका अवसरमा जुवातास, सट्टेबाजी, कालोबजारी, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तथा पटका र आतसबाजी प्रयोग गर्नेजस्ता गतिविधि नगर्न आग्रह गरेको हो।
प्रशासनले चाडपर्वका बेला गैरकानुनी रूपमा चिठ्ठा, जुवातास तथा कुनै पनि प्रकारका बाजी वा सट्टेबाजी खेल सञ्चालन नगर्न र नगराउन अनुरोध गरेको छ। त्यस्तै, अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने तथा म्याद नाघेका वस्तु बिक्री वितरण गरी उपभोक्ताको हितविपरीतका कार्य नगर्न व्यवसायीलाई सचेत गराएको छ।
सूचनामा मादक पदार्थलगायत नशालु पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने तथा शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगर्न पनि आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिको परामर्शमा स्थानीय सुरक्षा निकायले निर्धारण गरेबमोजिमको समयमा मात्र होटल व्यवसाय सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको छ। सवारीसाधन चलाउँदा क्षमता र नियमविपरीत यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा तोकिएको भाडादरभन्दा बढी भाडा नलिन पनि सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
त्यसैगरी, पटका, आतसबाजीलगायत प्रज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न प्रशासनले स्पष्ट पारेको छ। चाडपर्वलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाउन सबै जिल्लावासीको जिम्मेवारी रहने उल्लेख गर्दै प्रशासनले विजयादशमीसहितका पर्व आपसी सद्भाव, शान्ति र सुरक्षाका साथ मनाउन अनुरोध गरेको छ।