Butwal Today

बर्षौको पर्खाइपछि हातमा लालपूर्जाः गैडहवाका १६ परिवारको मुहारमा छायो दशैँको खुशी

३० आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

भैरहवा ।  गैडहवा गाउँपालिका वडा नम्बर ९ का अयोध्या मुसहरका लागि यसपालिको दशैँ अन्य वर्षभन्दा सर्वथा फरक र विशेष बन्यो । २०१५ सालमा जन्मिएका मुसहरले जीवनमा कयौँ दशैँहरु देखे, तर यसपालिको दशैँले उनको जीवनमा वर्षौँदेखि पर्खिएको एउटा ठूलो खुशी लिएर आयो । उमेरले छ दशक पार गरिसकेका उनी अब केवल ‘सुकुम्बासी’ रहेनन्, उनको हातमा आफ्नै भूमि—जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) छ ।

अयोध्या मुसहर मात्र होइन, गैडहवा गाउँपालिकाका १६ घरपरिवारका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुका लागि यो दशैँ हर्ष र उमङ्गको पर्व बनेको छ । वर्षौदेखि ओत लागेको जमिनको आफ्नै पहिचान र वैधानिकता पाउँदा उनीहरु सबैको मुहारमा अहिले उज्यालो हाँसो छाएको छ ।

गैडहवा गाउँपालिका वडा नम्बर ८ का ९ घरपरिवार र वडा नम्बर ९ का ७ घरपरिवार गरी जम्मा १६ भूमिहीन तथा सुकुम्बासी परिवारलाई शुक्रबार एक विशेष कार्यक्रमबीच जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ ।
नापी कार्यालय भैरहवाका प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीका अनुसार रुपन्देही जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्ने कार्यमा यो एक ठूलो सफलता हो ।

पुर्जा वितरणको प्रक्रियाबारे स्पष्ट पार्दै रेग्मीले भने, “हामीले वडा समितिबाट प्रमाणीकरण गरी, पालिकाको सिफारिस र जिल्ला समितिको आवश्यक छानबिन एवं प्रमाणिकरणपछि यो प्रक्रिया अघि बढाएका हौँ । जग्गाको नापजाँच र सार्वजनिक सूचना प्रकाशनपछि पालिकाको सिफारिसकै आधारमा जिल्ला समितिले निर्णय गरेर लालपूर्जा वितरण सम्भव भएको हो ।”
वितरित लालपूर्जाहरु आगामी ६० दिनभित्र भूमिसुधार तथा मालपोत कार्यालय (भूमि प्रशासन) को डिजिटल प्रणालीमा प्रविष्ट गराई अभिलेख पूर्ण रुपमा व्यवस्थित गरिने र यससँगै उनीहरु पूर्ण रुपमा जग्गाका मालिक हुने अधिकृत रेग्मीले जानकारी दिए । उनले गैडहवा गाउँपालिकाबाट सुरु भएको यो अभियान अब देवदह, बुटवल, कञ्चन लगायतका अन्य पालिकाहरुमा पनि चाँडै विस्तार गरिने बताए ।

गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलका अनुसार आजको दिन सहजै आएको भने होइन । विक्रम संवत् २०७७ सालदेखि सुरु भएको यो यात्रामा करिब चार वर्षको निरन्तर प्रयास र पालिकाको ठूलो लगानी परेको छ ।
“हामीले स्थानीय सरकारका तर्फबाट वार्षिक रुपमा बजेट विनियोजन गर्दै आएका हौँ । चार वर्षमा करिब ४ करोड रुपियाँ बजेट यस कार्यमा विनियोजन भयो । यो रकमले ठूला–ठूला बाटोहरु पिच गर्न सकिन्थ्यो होला, तर हाम्रो पहिलो प्राथमिकता समृद्धिको आधारका रुपमा रहेका गरिब, सुकुम्बासी र भूमिहीनलाई जमिनको मालिक बनाउनु थियो,“ अध्यक्ष पौडेलले भने ।
सात चरणका प्रशासनिक प्रक्रिया, नापजाँच, किल्ला ठोक्ने, पोइन्ट गाड्ने कार्य र चार जना प्रशासकीय अधिकृतहरुको फेरबदलका बीच पनि जनप्रतिनिधि र कर्मचारीको निरन्तर खटाइले यो सफलता सम्भव भएको उनले बताए ।

हालसम्म पालिकामा ७, ८ र ९ वडाका ४ हजार ६०० भन्दा बढी लगत प्रविष्ट भइसकेको र ४ हजार २५० जनाको व्यक्तिगत प्रमाणीकरण भइसकेको जानकारी दिँदै बाँकी रहेका अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई पनि क्रमैसँग हकदाबी सूचना र राजस्व निर्धारण गरी पुर्जा उपलब्ध गराइने उनले प्रतिबद्धता जनाए ।

जिल्ला भूमिहीन समस्या समाधान समिति रुपन्देहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले यो कार्यक्रमलाई नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त कार्यक्रमका रुपमा रहेको बताउछन् । “जिल्लाभर हालसम्म करिब १० हजार भूमिहीन सुकुम्बासी र ७२ हजार अव्यवस्थित बसोबासीको लगत प्रविष्ट भइसकेको छ । जेठ २१ गते जिल्ला समिति गठन भएपछि हामीले तीव्रताका साथ काम अघि बढाएका छौँ ।”

५ हजारभन्दा बढी लाभग्राही भएका ठाउँमा ५०० दिनभित्र काम सम्पन्न गर्नुपर्ने कानुनी र समयसीमाको दबाब रहेको बताउँदै उनले ५०० दिनमध्ये १३० दिन व्यतीत भइसकेकाले अब बाँकी रहेका ३७० दिनभित्र सम्पूर्ण कार्य सम्पादन गर्न रातदिन नभनी खट्नुपर्ने आवश्यकता औँल्याए । गैडहवा गाउँपालिका रुपन्देहीमा पहिलो पटक लालपूर्जा वितरण गर्न सफल पालिका बनेकोमा बधाई दिँदै उनले प्रशासनिक र प्राविधिक सहयोगका लागि जिल्ला समिति सधैँ पालिकाको साथमा रहेको बताए।
बर्षौँदेखि सुकुम्बासीका रुपमा जीवन बिताउँदै आएका अयोध्या मुसहर र १६ घरपरिवारका लागि हातमा परेको यो रातो लालपूर्जा केवल कागजको पाना मात्र होइन, सम्मानजनक जीवनयापन र सुरक्षित भविष्यको दह्रो आधार बनेको छ । १६ परिवारको यो खुशी उनिहरुमा प्रष्टै देख्न सकिन्थ्यो ।

 

“हामीलाई कति खुशी लागेको छ, त्यो भनेर साध्यै छैन । यो लालपूर्जा पाउँदाको आनन्द शब्दमा व्यक्त गर्नै सकिँदैन,” अयोध्याले आफ्ना भावना यसरी साटे ।
आफ्नो हातमा रातो लालपूर्जा थामिरहँदा उनलाई केवल आफ्नो मात्र चिन्ता थिएन, उनीजस्तै पुस्तौँदेखि जमिनको अधिकारबाट वञ्चित अन्य भूमिहीन छिमेकी र गाउँलेहरुको पनि उत्तिकै माया थियो । भावुक हुँदै उनले भने “हामी जस्तै अझै धेरै पाउने आशामा बसेका छन् । सबैले यसरी नै पुर्जा पाउनू, सबैको मुहारमा यसरी नै खुशी छाओस् । जसरी आज हामी खुशी भएका छौँ, त्यसरी नै सबैजना खुशी हुन पाओस् ।”

 

जग्गाको स्वामित्व पाएसँगै देवीनगरका यी नागरिकहरूका लागि अब आफ्नो घर–आगन केवल बस्ने ठाउँ मात्र रहेन, त्यो उनीहरूको आफ्नो वैधानिक पहिचान र आत्मसम्मानको प्रतीक बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?