© 2026
लमही ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका वडा नम्बर १ कौडियामा सडक अवरुद्ध भएको छ ।
गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएपछि मृतकका आफन्तले सहमति हुन नसकेको भन्दै सडक अवरुद्ध गरेका हुन् । सडक अवरुद्ध भएपछि उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
बिहिवार राती देउखुरीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा लमही नगरपालिका–२ केरुनिया निवासी ३९ वर्षीय देवनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार राति पौने १० बजेको समयमा लमही नगरपालिका–१ कौडियास्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ११६१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको STACE 20-300 BPA 5024 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका बस चालक दैलेख नगरपालिका–९ दैलेख निवासी अन्दाजी ३१ वर्षीय हुकुम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।