Butwal Today

मुहान संरक्षण गर्न नसके देश मरुभुमि बन्छः पूर्व मन्त्री केसी

३० आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

चन्द्रौटा ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री अर्जुन कुमार केसीले नदीका मुहान संरक्षण गर्न नसके देश मरुभुमि बन्ने बताएका छन् । शिवराज नगरपालिका–३ स्थित कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको ८औँ साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

वन, जल र वातावरण एकअर्काका परिपूरक रहेको भन्दै वन विनाशले पानीका स्रोत सुक्दै जाने र वातावरणीय सन्तुलन बिग्रदै गएको उनले बताए । वन संरक्षणसँगै नदीका मुहान, तालतलैया र जलाधार क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्ने उनले बताए । जीवनचक्र चलाउन पानीको स्रोत अति महत्वपूर्ण रहेको बताउँदै वनको उपभोग र संरक्षणमा ध्यायन दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा डिभिजन वन कार्यालय (गौतमबुद्ध) चन्द्रौटाका डिभिजनल वन अधिकृत गणेश बहादुर खड्काले वनलाई काठ र दाउराको स्रोतका रूपमा मात्र हेर्न नहुने उल्लेख गरे । वनले मानव जीवन, वन्यजन्तु र जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । वन संरक्षणमा उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए ।

कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष गंगेशनाथ तिवारीले ७ करोड १५ लाख बढीको आगामी बजेट प्रस्तुत गरे । साझेदारी वनले स्थानीय समुदायसँग सहकार्य गर्दै सहुलियत मूल्यमा काठदाउरा उपलब्ध गराएको उनले जनाए । वन क्षेत्रको संरक्षण गर्दै समुदायिक हित र विकासका कार्यलाई प्राथमिकतामा राखेकोसमेत अध्यक्ष तिवारीले बताए ।

उनका अनुसार कपिलवस्तुको शिवराज, बुद्धभुमि, कृष्णनगर, महाराजगञ्ज र अर्घाखाँचीको शितगंगा नगरपालिकाका गरी २२ वटाका एक लाख २२ हजार ३९३ उपभोक्ता रहेको प्रतिवेदनमा उल्लेख छ । आम उपभोक्तालाई स्थानीय स्रोतसाधनको संरक्षण तथा उपभोग गर्दै वनसँग जोड्दै आयमूलक कार्यमा लगानी गर्न तिवारीले प्रतिबद्धता जनाए । वरिष्ठ वन अधिकृत पहलमान सेर्मुजा मगरलाई सम्मानपत्रसहित विदाई समेत गरिएको वन समूहले जनाएको छ ।

यस्तै तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जय प्रकाश पाण्डे, गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जोवदआलम खान, शिवराज नगरपालिका–३ का वडा अध्यक्ष टेकलाल सापकोटालगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?