Butwal Today

पुर्खाको पेसा जोगाउनै मुस्किल

पुस्तौँदेखि माटोका दियो बनाउँदै आएकी कोहारलाई पुख्र्यौली पेसा जोगाउनै कठिन देखिएको छ । यस वर्षको दीपावलीका लागि पनि उनले माटोका दियो तयार गरेकी छन् । तर, उत्पादित दियो बिक्री गर्न पहिले जस्तो सहज छैन ।
२० कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

नवलपरासी  ।
आधुनिक विद्युतीय बत्ती र सजावटका सामग्रीको प्रयोग बढ्दै जाँदा पुस्तौँदेखि माटोका भाँडाकुँडा बनाउँदै आएका कुमाल समुदायका परिवारको पुख्र्यौली पेसा संकटमा पर्न थालेको छ । कुनै समय दीपावलीलगायतका पर्वमा माटोका दियोको माग उच्च हुने गरे पनि पछिल्लो समय माग घट्दै गएपछि यसै पेसामा निर्भर परिवारको जीविकोपार्जन कठिन बन्दै गएको छ ।

पाल्हीनन्दन गाउँपालिका–५ गेर्मी गाउँकी ६० वर्षीया छेदी कोहारले बाल्यकालदेखि नै माटोका भाँडाकुँडा बनाउँदै आएकी छन् । उमेर ढल्किँदै गए पनि उनले पुर्खाले सिकाएको सीप र पेसालाई निरन्तरता दिइरहेकी छन् । तर, पहिलेको तुलनामा दियोको माग घट्नु र उत्पादन लागत बढ्दै जानुले उनलाई पुख्र्यौली पेसा जोगाउनै मुस्किल भएको छ ।

यस वर्षको दीपावलीका लागि पनि उनले माटोका दियो तयार गरेकी छन् । तर, उत्पादित दियो बिक्री गर्न पहिले जस्तो सहज छैन । ग्राहक खोज्दै गाउँगाउँ पुग्नुपर्ने अवस्था आएको उनी बताउँछिन् । अहिले केही ग्राहकले आवश्यकताअनुसार घरबाटै दियो लैजाने गरेका छन् ।
‘पहिले श्रद्धा र विश्वासका साथ मानिसले माटोका दियो किन्थे । गाउँमा बेच्न जाँदा सजिलै बिक्री हुन्थ्यो । अहिले दियो बेच्न जाँदा विभिन्न कुरा काट्ने मानिस पनि भेटिन्छन्,’ उनले भनिन् ।

उनका अनुसार पहिले दीपावली तथा अन्य धार्मिक संस्कारमा माटोका दियोको प्रयोग अनिवार्यजस्तै मानिन्थ्यो । अहिले विद्युतीय बत्ती र अन्य सजावटका सामग्रीप्रति आकर्षण बढेसँगै माटोका दियोको प्रयोग घट्दै गएको छ । परम्पराभन्दा खर्चलाई प्राथमिकता दिने प्रवृत्तिले पनि यसको माग प्रभावित भएको उनको बुझाइ छ ।

‘दीपावली श्रद्धा, भक्ति र आस्थाको पर्व हो । माटोको दियो बाल्नु हाम्रो परम्परा हो । तर, अहिले मानिसले परम्पराभन्दा पनि कति खर्च लाग्छ भन्ने हिसाब गर्न थालेका छन्,’ उनी भन्छिन्, ‘दियो बनाउनै महँगो पर्छ । बिक्रीबाट लगानीसमेत उठाउन मुस्किल छ ।’

छेदीका अनुसार माटोको दियो बनाउने काम देखिएजस्तो सहज छैन । गुणस्तरीय दियो बनाउन सबै प्रकारको माटो प्रयोग गर्न मिल्दैन । त्यसका लागि पोखरीको चिल्लो माटो आवश्यक पर्छ । यस वर्ष उनले लहरौलीस्थित शिवपार्वती सिद्धधाम पोखरीबाट माटो ल्याएर दियो बनाएकी छन् ।

माटो संकलनदेखि मुछ्ने, दियोको आकार दिने, सुकाउने र आगोमा पकाउनेसम्मका प्रक्रियामा पर्याप्त समय, श्रम र खर्च लाग्ने गर्छ । अहिले एक टाली माटोको मूल्य नै करिब दुई हजार दुई सय रूपैयाँ पर्ने उनी बताउँछिन् । त्यस्तै, दियो पकाउन आवश्यक पर्ने दाउरा र भुससमेत महँगिएको छ । पहिले सहजै वा निःशुल्क पाइने दाउराका लागि अहिले प्रतिक्विन्टल एक हजार रूपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

दियो बनाउने क्रममा उचित तापक्रम मिलाउन नसके फुट्ने वा बिग्रिने जोखिमसमेत हुन्छ । यसरी उत्पादन गर्दा लागेको खर्च र श्रमको उचित मूल्य बजारबाट पाउन नसकिएको उनको गुनासो छ ।

‘पहिले दाउरा र भुस सित्तैमा पाइन्थ्यो । अहिले सबै कुरा किन्नुपर्छ । दिनभरि मेहनत गरेर दियो बनायो, फेरि बेच्न गाउँगाउँ पुग्नुपर्छ । तर, लगानी र मेहनतअनुसारको मूल्य पाइँदैन,’ उनले भनिन् ।

बढ्दो उत्पादन लागत, घट्दो माग र व्यवस्थित बजारको अभावले माटोका भाँडाकुँडा बनाउने परिवारलाई पेसा निरन्तरता दिन कठिन बनाएको छ । विद्युतीय झिलिमिली बत्ती र आयातित सजावटका सामग्रीको प्रयोग बढ्दै जाँदा स्थानीयस्तरमा उत्पादन हुने माटोका दियोको महत्वसमेत ओझेलमा पर्दै गएको छ ।

स्थानीय रामचन्द्र मौर्य माटोका दियो बनाउने परम्परागत पेसाको संरक्षण गर्नुपर्ने बताउँछन् । उनका अनुसार यो पेसा केही परिवारको आम्दानीसँग मात्र जोडिएको विषय होइन, स्थानीय कला, संस्कृति, परम्परा र रोजगारीसँग पनि सम्बन्धित छ ।

‘माटोको दियो वातावरणमैत्री वस्तु हो । यसले स्थानीय सीप र स्रोतसाधनको उपयोग गर्नुका साथै मानिसलाई रोजगारी पनि दिन्छ । तर, यसको महत्व बुझेर संरक्षण गर्ने प्रयास हुन सकेको छैन,’ उनले भने ।

आधुनिकताको विकासलाई रोक्न नसकिने भए पनि त्यसका नाममा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप र संस्कृतिलाई विस्थापित गर्न नहुने उनको धारणा छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र परम्परागत पेसामा संलग्न परिवारलाई कच्चा पदार्थ, उत्पादन सामग्री तथा बजारीकरणमा सहयोग गर्नुपर्ने उनी बताउँछन् ।

छेदी पनि सरकारले सीप संरक्षण र व्यवसाय प्रवद्र्धनका लागि सहयोग गरे पुख्र्यौली पेसालाई निरन्तरता दिन सकिने बताउँछिन् । तर, सरकारी अनुदान र सहयोगमा पहुँचवालाकै प्रभाव रहने गरेको उनको गुनासो छ ।

‘सरकारबाट केही प्रोत्साहन र अनुदान पाए हुन्थ्यो । तर, हाम्रो पहुँच छैन । सरकार पनि पहुँचवालाकै कुरा सुन्छ जस्तो लाग्छ । हामीले आफ्नो पेसा जोगाउन चाहेर मात्रै सम्भव भइरहेको छैन,’ उनले भनिन् ।

माटोका दियो स्थानीय स्रोतसाधनबाट उत्पादन गर्न सकिने वातावरणमैत्री वस्तु हुनुका साथै सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा पनि हो । यसको प्रयोग र उत्पादनलाई प्रोत्साहन गर्न सके स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै परम्परागत सीपको संरक्षणमा समेत सहयोग पुग्न सक्छ ।

६० वर्षीया छेदी अहिले पनि माटो मुछेर दियो बनाइरहेकी छन् । उनका लागि ती दियो केवल दीपावलीमा बालिने बत्ती मात्र होइनन्, पुस्तौँदेखि परिवारले अपनाउँदै आएको पेसा र पहिचान पनि हुन् । तर, बढ्दो लागत र घट्दो बजारका कारण उनले सिकेको सीप आगामी पुस्तासम्म हस्तान्तरण होला कि नहोला भन्ने चिन्ता बढ्दै गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?