© 2026
आम उपभोक्तामाथि अहिले चाडपर्वले त्यसैपनि आर्थिक भार थपेको छ । त्यसमाथि हरेक बस्तुमा भैरहेको मूल्यबृद्धिले उपभोक्ता आकुलव्याकुल बन्नुपर्ने अवस्था उत्पन्न भएको छ । अहिले बढिरहेको महंगीले सिमा नाघेको छ ।
सरकार महंगी नियन्त्रणमा चुपचाप छ । त्यसैपनि नेपालको आर्थिक अवस्था अहिले अत्यन्तै कमजोर भैरहेको बेला उपभोक्ताको चिन्ता बजार नियन्त्रण होस् भन्ने छ । महंगीले आम नागरिकको ढाड सेकेको छ । नेपालबाट तेश्रो देश निर्यात निरन्तर ओरालो लागिरहेको अवस्थामा नेपालको बजारमा मूल्यबृद्धिको भार उच्चतहमा बृद्धि भएको छ ।
यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामा परिरहेको छ । सरकारले निर्यात बृद्धि गर्ने भन्दै विभिन्न कार्यक्रम सार्वजनिक गरेपनि त्यो प्रभावकारी नहुँदा नेपाली बजार उपभोक्ताको पहुँचभन्दा बाहिर गैरहेको छ । यो गंभीर परिस्थितिमा बाहिरी देशवाट नेपालमा आईरहेको रेमिटान्सले समेत बजारमा मूल्य बढाउन मद्दत गरिरहेको छ ।
सरकारले बजार मूल्य नियन्त्रणका लागि कुनै कार्यक्रम सार्वजनिक गर्न नसक्दा तल्लो स्तरका जनता तथा उपभोक्ताले ठूलो भार खेप्नु परिरहेको छ । मूल्य नियन्त्रणको उपाय हुँदा पनि नेपाल सरकारले त्यसतर्फ खासै ध्यान दिएको छैन । इन्धनको वृद्धि, उत्पादन लागतमा वृद्धि, ढुवानी खर्च बढ्नु, बजारमा कृत्रिम अभाव सिर्जना हुनु, कालोबजारी तथा अनियन्त्रित व्यापारिक गतिविधि मूल्यबृद्धिका मूख्य कारण हुन ।
त्यस्तै आयातमा अत्यधिक निर्भरता र कमजोर बजार अनुगमनले पनि महँगी नियन्त्रणमा चुनौती थपेको छ । महँगीको असरकै कारण नागरिकको क्रयशक्ति घटेको छ । आम्दानी स्थिर रहने तर खर्च निरन्तर बढ्ने अवस्थाले सर्वसाधारणलाई आर्थिक संकटतर्फ धकेलिरहेको छ । यसले गरिबी, बेरोजगारी र सामाजिक असमानता बढाउने जोखिमसमेत सिर्जना गरेको छ ।
त्यसैले महँगी नियन्त्रण गर्नु सरकारको प्रमुख दायित्व हो । बजार अनुगमनलाई प्रभावकारी बनाउने, कालोबजारी र कृत्रिम मूल्यवृद्धि रोक्ने, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने तथा आपूर्ति व्यवस्थालाई सहज बनाउने कार्यमा सरकारले विशेष ध्यान दिनुपर्छ । साथै, किसानलाई उत्पादनका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै कृषि उत्पादनमा आत्मनिर्भर बन्ने नीति अवलम्बन गर्न आवश्यक छ ।
बजारमा मूल्य बृद्धिको अनुगमन र नियन्त्रण गर्ने नेपाल राष्ट्र वैंकले समेत यो वर्ष यस विषयमा खासै ध्यान दिएको छैन । चाडपर्वको बेलैमा मूल्य बृद्धि नियन्त्रण नहुँदा सर्वसाधारण जनता ठूलो मारमा परेको अवस्था छ ।
सरकार हुनु र नहुनुको कुनै अनुभूति जनताले गर्न नपाउनु बिडम्वना हो । अझैपनि समय छ– सरकारले महंगी नियन्त्रण गर्न गंभीररूपमा कदम चाल्नु जरुरी छ । बजारको पहुँच आम उपभोक्तासम्म छैन । यो टाढाको कुरा बन्दै गएको छ । मूल्यबृद्धि नियन्त्रणमा ध्यान नदिने हो भने उपभोक्ता आन्दोलित हुनुपर्ने अवस्था आएको छ ।
अव सरकारले पेट्रोलियमको मूल्य घटाएर भएपनि उपभोक्तालाई राहत नदिने हो भने आर्थिक संकुचन झनै पीडादायी हुनेछ । अहिले जनतालाई आश्वासन होइन, तत्काल राहत चाहिएको छ । सरकारको ध्यान जाओस् । अन्त्यमा, महँगी केवल आर्थिक समस्या मात्र नभई आम नागरिकको दैनिक जीवनसँग जोडिएको सामाजिक समस्या पनि हो । जनताको जीवनस्तर सुधार्न र आर्थिक स्थायित्व कायम गर्न मूल्यवृद्धि नियन्त्रण अपरिहार्य छ ।
सरकार, निजी क्षेत्र र उपभोक्ता सबैको जिम्मेवार प्रयासबाट मात्रै महँगीको समस्या समाधान गर्न सकिन्छ । जनताको चुलो निभ्न नदिने र जनजीवन सहज बनाउनेतर्फ राज्य गम्भीर बन्नैपर्छ । सरकारको ध्यान जाओस् ।