Butwal Today

पाल्पाका पालिका गर्दैनन् बजार अनुगमन

बजार अनुगमन नहुँदा दशैंको मुखमा उपभोक्ता मर्कामा
२६ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

पाल्पा ।

स्थानीय पालिकाले नियमित बजार अनुगमन नगर्दा उपभोक्ताले म्याद नाघेका खाद्यान्न उपभोग गर्न बाध्य हुने गरेका छन । स्थानिय प्रशासन र पालिकाले नियमित बजार अनुगमन नगर्दा त्यसको असर उपभोक्तामाथि पर्ने गरेको छ ।

कतिसम्म भने पाल्पाको सदरमुकाम तानसेनकै उपभोक्ताले म्याद नाघेका खाद्य, पेय तथा विभिन्न उपभोग्य वस्तुको खरिद गर्न उपभोक्ता बाध्य हुने गरेको गुनासो गर्दै आएका छन् ।

पाल्पाको वगनासकाली गाउँपालिकाका बजार क्षेत्रमा अनुगमन गरी म्याद नाघेका करिब ४० हजार बराबराको सामान बरामद गरी नष्ट गर्यो ।
सदरमुकाम तानसेनसंग सिमाना जोडिएको यो गाउँपालिकामा आठ महिना भन्दा धेरै समय पछि मात्रै बजार अनुगमन भएको हो ।
दुईवटा नगरपालिका र आठवटा गाउँपालिका रहेको पाल्पामा बजार अनुगमनतर्फ पालिका र प्रशासनले ध्यान नदिँदा चाडपर्वको बेलामा समेत उपभोक्ता मर्कामा पर्नुपरेको छ ।

बडादशैंको मुखमा स्थानिय बजारमा उपभोग्य बस्तुको मूल्यमा एकरुपता नभएको, म्याद नाघेका बस्तुको बिक्री वितरण हुने गरेको, चिनी तथा खाना पकाउने ग्याँसमा स्थानिय बिक्रेताले बढी मूल्य लिने गरकोमे उपभोक्ताको गुनासो छ । हरेक तिन तिन महिनामा बजार अनुगमन गर्ने जिम्मेवारी पालिका र सम्वन्धित प्रशासनको हो तर पाल्पाका पालिकाहरुले वर्षमा एकपटक मात्रै औपचारिकताका लागि बजार अनुगमन गर्ने गरेको पूर्वखोला गाउँपालिका सिलुवाका स्थानिय राजेन्द्र वयम्वु बताउँछन् ।

हरेक बर्ष दशैं, तिहार तथा छठ लगायतका पर्व आउँदा सामानको मुल्य बढाउने व्यापारीको नियमितता हो । यसमा नियमन गर्ने पालिकाले हो तर पाल्पाका पालिकाहरु बजार अनुगमनमा बेखबर जस्तै बन्ने गरेका छन । त्यसो त अनुगमन नहुने भन्ने होइन तर भएपनि औपचारीकतामा मात्र हुने गरेको निस्दी गाउँपालिका मित्यालका स्थानिय पूर्णबहादुर सुनारी बताउँछन् ।

अर्कोतर्फ दशैंको मुखमा नियमित बजार अनुगमन नभएका कारण नक्कली स्टिगर टाँसेर नक्कली मदिराको व्यापार पनि फस्टाएको व्यापक गुनासो छ । खुद्रा व्यापारीलाई यस्ता बस्तुको बिक्री वितरणबाट बढि नाफा हुने हुने भएकोले उनीहरु यस्ता सामान विक्री गर्न बढी खोज्छन ।
निस्दीको ढुंगाना बेसीका एक खुद्रा व्यापारी भन्छन– रामपुरका व्यापारीले सामान पठाउने हो । उनीहरुले सक्कली नक्कली पठाएको हामीलाई थाहा नै हुदैन, नक्कली भए समातिने हामी हो ।

उनको गुनासो छ– यो सबै स्थानिय पालिकाले नियमीत बजार अनुगमन नगर्दाको परिणाम हो । पाल्पाका ग्रामिण बस्तीमा पेयपदार्थ र प्याकेटका खाद्य सामाग्री सबैभन्दा बढि म्याद नाघेको बिक्री हुने गरेको स्थानिय बताउँछन् ।

रामपुरको किसानबारीका एक स्थानियले ग्रामिण बस्तीमा मात्र होइन सुविधा सम्पन्न शहरी क्षेत्रका ठूला पसलमा बिक्रीका लागि राखिएका दाल चामल नै म्याद सकिएको बिक्री हुने गरेको गुनासो सुनाए ।

स्थानिय कल्पना श्रेष्ठ सदरमुकाम तानसेन बजारस्थित जिल्ला प्रशासन कार्यालय नजिकका पसलहरुमा समेत म्याद सकिएका बस्तुको बिक्री हुने गरेको र उपभोक्ता निरीह बन्नुपरेको बताउँछिन् ।

उता निस्दी गाउँपालिका उपप्रमुख तिरन कुमारी श्रेष्ठ भन्छिन्– कानुनले त अधिकार दिएको छ तर कार्य व्यस्तताका कारण त्यसतर्फ ध्यान पुग्न सकेको छैन ।

रिब्दीकोट गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारी पनि जिम्मेवारी धेरै भएका कारण बजार अनुगमनको काम नियमीत रुपमा हुन नसकेको स्वीकार्छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?