Butwal Today

सन्धिखर्कमा डिजिटल अपाङ्गता परिचयपत्र वितरण सुरु

सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य
२६ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले डिजिटल अपाङ्गता परिचयपत्र वितरण गर्न सुरु गरेको छ । यसअघि हातले लेखेर अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको नगरपालिकाले अब स्मार्ट कार्डमार्फत परिचयपत्र वितरण गर्न थालेको हो ।

नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्यले अपाङ्गता भएकी एक बालिकालाई डिजिटल परिचयपत्र प्रदान गर्दै वितरण कार्यको शुभारम्भ गरिन् । नगरपालिकाबाट प्रदान गरिने सेवालाई डिजिटलमैत्री बनाउने लक्ष्यसहित स्मार्ट परिचयपत्र वितरण सुरु गरिएको उपप्रमुख आचार्यले बताइन् । उनले डिजिटल प्रणालीको प्रयोगले नगरपालिकाको सेवा प्रवाह छिटोछरितो हुनुका साथै सेवा थप विश्वसनीय र पारदर्शी हुने विश्वास व्यक्त गरिन् ।

स्थानीय तहबाट प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउँदै नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल प्रणालीको प्रयोगलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ ।

यसअघि हातले लेखेर परिचयपत्र वितरण हुँदै आएकोमा स्मार्ट कार्डमार्फत वितरण सुरु भएपछि परिचयपत्र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । डिजिटल परिचयपत्रले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान तथा परिचयपत्रसम्बन्धी अभिलेख व्यवस्थापनलाई सहज बनाउनसमेत मद्दत पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियार, सहायक महिला विकास अधिकृत पुष्पा भुसाललगायतको उपस्थिति रहेको थियो ।

सन्धिखर्क नगरपालिकाले डिजिटल अपाङ्गता परिचयपत्र वितरण सुरु गरेसँगै स्थानीय तहबाट प्रवाह हुने सेवालाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?