चितवन ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताएकी छिन् । चितवन उद्योग सङ्घको ३५औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै अस्पष्ट कानुनका कारण प्रशासनिक झन्झट बेहोर्नुपरेकाले समयसापेक्ष संशोधन गरिने बताइन् ।
उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनीन्, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गर्न लागिपरेका छौँ ।” देशमा कसरी लगानीमैत्री वातावरण बनाउने भन्ने सन्दर्भमा आफूहरूले निरन्तर प्रयासरत रहेको उनले प्रष्ट पारिन् ।
त्यसका लागि आवश्यक पर्ने पूर्वतयारीहरू सरकारले गरिरहेको मन्त्री गौतमले बताइन् । हालै मात्र लगानीमैत्री कानुनहरूमा केके सुधार गर्नुपर्छ रु भनेर बृहत् कार्यशाला गरिसकिएको उनले जानकारी दिइन् । लगानीमैत्री कानुन निर्माणका लागि नीति निर्माता, कर्मचारी तन्त्र, निजी क्षेत्र, राजनीतिक क्षेत्र सबै एकै ठाउँमा हुनुपर्नेमा उनले जोड दिइन् ।
कानुन निर्माण गर्ने विषय रातारात नहुने भन्दै मन्त्री गौतमले भनीन्, “अहिलेसम्म तपाईंहरूले भोग्नुभएको समस्या वर्षौंदेखि जेलिँदै आएका समस्या हुन् । सुधारमुखी कुराहरू देखिनका लागि कानुनको संसोधन गर्नुपर्यो । संसोधनको चरणमा बल्ल हामी पुगेका छौँ ।”
कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार लागि परेको बताए । सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष शोभा गुरुङले भोटेकोशी बाढीमा प्रभावित भएका उद्योग पुनःस्थापनाका लागि सरकारले सहयोग गर्नुपर्ने बताइन् ।