© 2026
काठमाडौँ । झन्डै ३० लाख नेपालीलाई बाथ रोगको समस्या देखिएको छ । आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डा बुद्धि पौडेलले सो तथ्य प्रकाश पार्नुभएको हो ।
नेपाल बाथरोगमैत्री समाजद्वारा आज यहाँ आयोजित विश्व बाथरोग दिवसका अवसरमा उनले बाथरोगले सबै उमेर समूहका मानिसलाई असर गर्ने जानकारी दिए। उनले उक्त रोगको समयमै उपचार नगरिए शरीरका जोर्नी बाङ्गिने, कुरूप हुने र स्थायी रूपमा कमजोर बन्ने जानकारी दिए।
पाटन अस्पतालका बाथरोग विशेषज्ञ डा केशव सिग्देलले जाडो मौसममा बाथका बिरामीको दुखाइ बढ्ने र पछिल्ला वर्षहरूमा यसका बिरामीहरू तीव्र रूपमा बढेको जानकारी दिए।
उनले बाथरोगलाई धेरैजसोले ‘युरिक एसिड’ वा सामान्य जोर्नी दुख्ने समस्यालाई समयमा उपचार गर्न आग्रह गरे । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले प्रत्येक वर्ष १२ अक्टोबरमा विविध कार्यक्रमका साथ यो दिवस विश्वभर मनाउँदै आएको छ ।
समाजले आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्र जावलाखेलको प्राविधिक सहयोगमा विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको जनाइएको छ ।